सुदूरपश्चिममा १६२ जुवाडे पक्राउ

सुदूरपश्चिममा १६२ जुवाडे पक्राउ


सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दशैं, तिहार र छठ पर्व लक्षित सुरक्षा योजना कार्यान्वयन गर्ने क्रममा १६२ जुवाडेलाई पक्राउ गरेको छ ।

कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा ९ लाख ६४ हजार ६८६ सहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा कैलालीबाट ७७ र कञ्चनपुरबाट ८५ जना रहेका र उनीहरूलाई कानूनबमोजिम कारबाही अघि बढाइएको प्रदेश प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी नायब महानिरीक्षक रवीन्द्र केसीले बताए ।

प्रदेशका ९ जिल्लामा सामान्य अवस्थामा ७ हजार ५०० प्रहरी परिचालित हुने गरेकामा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका लागि थप ४ हजार गरी ११ हजार ५०० प्रहरी परिचालन गरिएको उनले जानकारी दिए ।

‘चाडपर्वलाई लक्षित गरेर विगतका घटनाको समेत विश्लेषण गर्दै प्रदेशमा सुरक्षा योजना बनाएर लागू गरिएको हो । सुरक्षा योजनाअन्तर्गत सीमानाकामा सञ्चालनमा रहेका सहायता कक्षमा प्रहरी संख्या बढाइएको छ,’ प्रहरी नायब महानिरीक्षक केसीले भने ।

सीमा क्षेत्रबाट लागूऔषधको कारोबार, विस्फोटक पदार्थ लगायत मालसमानको चोरी तस्करीका घटना हुन नदिन नाकामा सञ्चालित सहायता कक्षमा तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । सुरक्षा योजना लागू भएपछि पछिल्लो ८/१० दिनमा सीमा क्षेत्रबाट तस्करी भएर ल्याइएको झण्डै ५० लाख बराबरको मालसामान बरामद गर्न गरिएको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।