धनराज गुरुङकी पूर्वश्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार

धनराज गुरुङकी पूर्वश्रीमती ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलमा पत्राचार


काठमाण्डु – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वश्रीमती ज्योति गुरुङविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोलको महासचिवालयमा पत्राचार गरेको छ ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनमा संलग्न भइए फरार भएपछि ज्योतिविरुद्ध रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गर्न सिफारिस गरिएको सिआइबी प्रवक्ता एसपी होबिन्द्र बोगटीले जानकारी दिए । उनीसँगै ज्योति भण्डारीविरुद्ध रेड कर्नर नोटिस जारी गर्न पत्राचार गरिएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

मितेरी बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले जाहेरी दिएपछि रकम अपचलनबारे सीआईबीले अनुसन्धान गरिरहेको छ ।

धनराजकी पूर्वपत्नी ज्योति सहकारीको प्रबन्ध निर्देशक हुन् । बर्दिया घर भएका ज्योति भण्डारीले पनि सहकारीको ३ करोड ४४ लाख रुपैयाँ अपचलन गरेको भेटिएको र उनी कम्बोडियामा लुकेको आशंका रहेको प्रहरीले जनाएको छ ।

सहकारीको रकम अपचलन गरेको आरोपमा यसअघि नै ज्योति गुरुङ, ज्योति बहादुर भण्डारी, सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूले १२ करोड ५१ लाख हिनामिना गरेको आरोप छ । धनराज र ज्योतिले २०७६ फागुन २९ मा ललितपुर जिल्ला अदालतबाट सम्बन् विच्छेद गरेको भेटिएको पनि प्रहरीले जनाएको छ ।