कैलाली र ओखलढुंगा जिससमा कांग्रेस उम्मेदवारको जीत पक्का

कैलाली र ओखलढुंगा जिससमा कांग्रेस उम्मेदवारको जीत पक्का


काठमाण्डु – १६ मंसिरमा हुन लागेको उपनिर्वाचनमा कैलाली र ओखलढुंगाको जिल्ला समन्वय समिति प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवारले जित्ने पक्का भएको छ । दुवै जिल्लामा एमालेले कांग्रेस उम्मेदवारलाई समर्थन गरेपछि जित्ने पक्का भएको हो ।

जिसस सभापतिका लागि कांग्रेस एक्लैको बहुमत रहेको ओखलढुंगामा कांग्रेसले टेकराज भट्टराईलाई उम्मेदवार बनाएको छ । ८ पालिका रहेको ओखलढुंगामा कांग्रेससँग ९ जना (स्वतन्त्र जितेको एक पनि कांग्रेसतिरै रहेको) नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए ।

एमालेसँग ५, माओवादी र जसपासँग १/१ जना पदाधिकारी रहेकामा एमालेको पनि कांग्रेसलाई समर्थन हुँदा माओवादी र जसपाको दुई मत मात्रै कांग्रेस उम्मेदवार भट्टराईको विपक्षमा जाने देखिएको छ ।

२०७९ मा जिसस सभापतिमा भएको निर्वाच्नमा कांग्रेस उम्मेदवार डिल्लीराम खनाल निर्वाचित भएका थिए । उनको निधन भएकाले उपचुनाव हुन लागेको छ ।

एमालेले ओखलढुंगा जस्तै कैलालीमा पनि कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेपछि त्यहाँ पनि कांग्रेस उम्मेदवारले जित्ने पक्का भएको छ । १३ पालिका रहेको कैलालीमा कांग्रेसका ८ र एमालेका ५ जना पालिका पदाधिकारी छन् । जुन जीतका लागि आवश्यक पर्ने बह्ुमत हो ।

किनकि ४ जना पालिका पदाधिकारी रहेको माओवादीबाट मोहन्याल गाउँपालिका अध्यक्ष जितेका देवी दत्त उपाध्यक्ष निलम्बित भएकाले मतदात गर्न पाउँदैनन् । भ्रष्टाचार मुद्दामा निलम्बित भएकाले यसअघि पनि उनले मतदान गर्न पाएका थिएनन् ।

उनले मतदान गर्न नपाउँदा कांग्रेस र एमाले बाहेक १२ जना पालिका पदाधिकारी मात्र बाँकी रहन्छन् ।

कांग्रेसबाट उम्मेदवार भएर निर्वाचित पदमबहादुर कलेलको निधन भएपछि कैलाली जिससमा पुनः निर्वाचन हुन लागेको हो । २०७९ साल पुस २३ मा जिल्ला समन्वय समिति प्रमुख पदम बहादुर कलेलको निधन भएको थियो ।

अहिले कांग्रेसले त्यहा टीका कुमारी चौधरी (भुल) लाई उम्मेदवार बनाएको छ । टिका कैलारी गाउँपालिका वडा नम्बर २ बाट दलित महिला सदस्यमा निर्वाचित जनप्रतिनिधि हुन्।