काठमाडौंबाट २७ किलोमिटर उत्तर–पश्चिममा छ— ककनी । नुवाकोट जिल्लामा पर्ने ककनी क्षेत्र प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, धार्मिक, पुरातात्त्विक एवं पर्यटकीय दृष्टिकोणले समेत महत्त्वपूर्ण मानिन्छ । ककनीबाट दक्षिणमा देखिने दामन र सिमभन्ज्याङ, पूर्वमा देखिने काठमाडौं उपत्यका र आसपासका मनोरम छटाहरू उत्तरतर्फ देखिने थानसिङ फाँट र गणेश हिमाल मनमोहक मानिन्छन् ।
ककनीमा हुने स्ट्रबेरी, मुला तथा ट्राउट माछापालनले कृषि पर्यटनको सम्भाव्यता पनि बढाएको छ । शिवपुरी जंगलको पश्चिमी छेउमा अवस्थित ककनी ऐतिहासिक एवं पुरातात्त्विक हिसाबमा समेत महत्त्वपूर्ण मानिन्छ । वसन्ती दरबार र रुम्बा राजाको दरवार ककनीका ऐतिहासिक स्थल हुन् । वनभोज तथा शैक्षिक भ्रमणका लागि पनि ककनीले उत्तिकै प्रसिद्धि कमाएको छ ।
तामाङ जातिको मनै लोभ्याउने वेशभूषा तथा स्थानीय सांस्कृतिक झाँकीहरू ककनीका आकर्षण मानिन्छन् । बेलाबेलामा भैरहने मेला–महोत्सवहरू पनि ककनी क्षेत्रको प्रचारप्रसार एवं प्रवद्र्धनमा सक्रिय छन् ।
वर्षादको झरी होस् वा हिउँदको चिसो, एक दिन बिदा हुनेबित्तिकै राजधानीका हुनेखानेहरू ककनीतिर तेर्सिन्छन् । ककनीले उनीहरूलाई मोहनी नै लगाएको छ । काठमाडौँ–त्रिशूली मार्गवरिपरि खुलेका ट्राउट माछाको फार्म अनि स्वादिलो माछाको परिकार मात्र होइन, स्थानीय स्टेवरीको रक्सी, लोकल कुखुराको मासु तथा फापरको ढिँडोले राजधानीवासीहरूलाई आकर्षित गरिरहेको छ ।
ट्राउट माछाको स्वादमा रमाउन ककनीदेखि बेतिनीसम्म राजधानीवासीहरूको लाम लाग्छ । ‘स्थानीय पाखामा पालिएका स्वादिला माछा पर्यटकहरू आपैँmले मारेर चाहेअनुसारको स्वादमा रमाउन पाउने हुँदा यहाँ माछाका पारखीहरू बढी आउँछन्,’ हिमाली रेन्बो ट्राउट उत्पादक लालबहादुर तामाङले भने, ‘हाम्रो व्यापार राजधानीबाट आउने ग्राहकमा आधारित छ ।
हाल यो मार्गमा ५० भन्दा बढी कृषकले माछापालन गरिरहेका छन् । उनीहरू माछालाई आवश्यक पर्ने दाना पनि उत्पादन गर्छन् । कृषकहरू आपैँmले रेस्टुराँ पनि चलाएका छन् । राजधानीवासीहरूको बिदा मनाउने थलो भएका छन् ती ट्राउट रेस्टुराँहरू । काठमाडौंमा जाडो बढ्दा ककनीको चर्को घाममा न्यानो आनन्द लिन थुप्रै समूह पिकनिकका लागि ककनी पुग्ने गरेका छन् ।
— विष्णु तारुके, कान्तिपुर साप्ताहिकबाट
प्रतिक्रिया