काठमाण्डु – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भारत भ्रमणमा गएका छन् ।
मंगलबार भारत सरकारको निमन्त्रणामा मुख्यमन्त्री शाह भारत भ्रमणमा गएका हुन् । मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली वैशाख १६–२२ गतेसम्म भारत भ्रमणमा रहनेछ ।
मन्त्री शाहले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गरी भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्ने जानकारी दिएका छन् । भ्रमणले प्रदेश सरकार बीचमा राम्रो सम्बन्ध निर्माण हुने वातावरण बन्ने तथा दिन र लिनसक्ने कुरामा पनि सहजता हुने उनको विश्वास छ ।
उनले भने, ‘भारतको दिल्ली हुँदै देहरादुन, लखनउ लगायतको भ्रमण गर्नेछौं । हामी भौगोलिक रूपमा पनि जोडिएका छौं । हामीले विभिन्न चरणमा विभिन्न तरिकाले हाम्रो पर्यटनको विकास, कृषिको विकास र पूर्वाधारका विकासमा पनि भारत सरकारको सहयोग आएकै छ । थप सहयोगको पनि हामीले अपेक्षा गर्ने नै भयौं । मलाई लाग्छ यो भ्रमणले प्रदेश सरकार बीचमा पनि राम्रो सम्बन्ध निर्माण हुने वातावरण हुन्छ । त्यसैले हामीले दिनसक्ने र लिनसक्ने कुरामा पनि सहजता हुन्छ ।’
उनले राम मन्दिरको पनि दर्शन गर्ने जानकारी गराए । उनका अनुसार भ्रमणमा कुनै औपचारिक सम्झौताहरू हुने छैनन् ।
भ्रमण टोलीमा प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलको नेता घनश्याम चौधरी, नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक नरेशकुमार शाही, नेकपा माओवादी केन्द्र प्रदेशसभा सदस्य झपटबहादुर साउद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्यसचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट रहेका छन् ।
प्रतिक्रिया