कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह

कुपोषण अन्त्य गर्न प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री शाह


कैलाली – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले गरीबीका कारण सुदूरपश्चिमका बालबालिका कुपोषणको शिकार बन्दै गएको बताएका छन् ।

‘वल्र्ड भिजन इन्टरनेसनल नेपाल’द्वारा बिहीबार धनगढीमा आयोजित ‘इनअफ’ अभियानको प्रदेशस्तरीय शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री शाहले कुपोषण अन्त्य गर्न सरोकारवाला सबै एकजुट भएर लाग्नुपर्ने बताए ।

उनले प्रदेशका बालबालिकामा रहेको कुपोषण हटाउन प्रदेश सरकार र गैरसरकारी संस्थाबीच सहकार्य हुन आवश्यक रहेको बताए ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशका बालबालिकामा कुपोषणको समस्या विकराल बन्दै गएकाले त्यसको न्यूनीकरणका लागि प्रदेश सरकार गम्भीर भएर लाग्ने बताए । उनले सुदूरपश्चिमका हरेक घरमा पोषणयुक्त खानेकुराबारे सचेत गराउन जरुरी रहेको उल्लेख गर्दै दूरदराजका जनताको घरदैलोमै पुगेर पोषणयुक्त खाने कुराबारे सचेतना फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरे ।

प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरा सार्कीले स्वास्थ्य क्षेत्रको सुधार तथा पोषण सुरक्षाबारे सचेतना फैलाउन सरोकारवाला निकाय सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए । सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री वीरबहादुर थापा, सामाजिक विकासमन्त्री मेघराज खड्का र प्रदेशसभा सदस्यहरूले सुदूरपश्चिममा बढ्दै गएको कुपोषण हटाउन सरकार प्रतिबद्ध भएर लाग्ने बताए ।