काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवाना तिराउने काठमाण्डु महानगरपालिकाको निर्णय हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
महानगरले पूर्वराजाका नाममा काटेका पत्रहरू सामाजिक सञ्जाल फेसबूकमा राख्दै उनले महानगर प्रमुख बालेन्द्र शाहको निर्णयलाई स्टन्टको संज्ञा दिएका छन् ।
उनले लेखेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाण्डु महानगरपालिकाको निर्णय हास्यास्पद छ । ‘गलत ठेगानामा पठाइएको पत्र’ जस्तो ‘स्टन्ट’ भयो । मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला ? म अलमलमा छु ।’
संयुक्त जनआन्दोलन समिति र नागरिक बचाऊ अभियानले स्थानीय प्रशासनसँग अनुमति लिएर तीनकुनेमा कार्यक्रम आयोजना गरेको पनि उनले स्मरण गराएका छन् ।
उनले लेखेका छन्, ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाऊ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ ।’
काठमाण्डु महानगरले पूर्वराजा शाहको नाम पत्र लेख्दै ७ लाख ९३ हजार रुपैयाँ जरिवाना गरेको छ ।
अध्यक्ष थापाले महानगरपालिकाले पत्रमा प्रयोग गरेको भाषाप्रति पनि आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ । राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नुपर्ने थियो । पत्र फिर्ता लिनु बुद्धिमानी हुनेछ ।’
प्रतिक्रिया