अमेरिकाको राष्ट्रपति पदमा उपराष्ट्रपति कमला ह्यारिसले गरिन् उम्मेदवारी घोषणा

अमेरिकाको राष्ट्रपति पदमा उपराष्ट्रपति कमला ह्यारिसले गरिन् उम्मेदवारी घोषणा


काठमाण्डु-अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिसले आगामी राष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।

सामाजिक सञ्जाल एक्समार्फत् उनले उम्मेदवारी घोषणा गरेकी हुन् । ‘आज मैले आधिकारिक रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिका लागि मेरो उम्मेदवारी घोषणा गर्ने फारममा हस्ताक्षर गरेँ । म हरेक मत प्राप्त गर्न कडा मेहनत गर्नेछु,’एक्समा ह्यारिसले लेखेकी छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा आफू विजयी हुने विश्वास पनि उनले व्यक्त गरेकी छन् ।

पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामाले पनि उनको उम्मेदवारीलाई समर्थन गरेका छन् ।

अधिकांश डेमोक्रेटिक सांसद उनको पक्षमा रहेको र आगामी अगस्टमा हुने पार्टी महाधिवेशनमा उनलाई औपचारिक रूपमा राष्ट्रपतिको उम्मेदवारका रूपमा चयन गर्ने विश्वास गरिएको छ ।