काठमाण्डु – कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो ।
प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका दुई सय ३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि वर्गीकरण गरेको हो । जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायतका विषयमा छलफल गरी मतदानस्थलको वर्गीकरण गरिएको बताए । “पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको हो”, उनले भने ।
समितिले एक सय सातलाई संवेदनशील र ९९ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ । प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूची निर्धारण गरिएको बताए । गत स्थानीय निर्वाचनमा दुई सय ३५ मतदानस्थल र चार सय ६८ केन्द्र राखिएको थियो । यस पटक मतदानस्थल एउटा घटाएर दुई सय ३४ र मतदान केन्द्र चार बढाएर चार सय ७२ कायम गरिएको छ ।
निर्वाचनका लागि तीन हजार सात कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ । तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ । कपिललस्तुमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ गरी कूल नौ पदका लागि एक सय ४३ उम्मेदवार छन् । जिल्लामा दुई लाख दुई हजार एक सय २५ पुरुष, एक लाख ७६ हजार एक सय पाँच महिला र दुई अन्य गरी कूल तीन लाख ७८ हजार दुई सय ३२ मतदाता छन् ।
प्रतिक्रिया