कपिलवस्तुमा विगतको वर्चस्व बचाउन कांग्रेसलाई सकस, गठबन्धन नबनेकाले एमालेलाई राहत

कपिलवस्तुमा विगतको वर्चस्व बचाउन कांग्रेसलाई सकस, गठबन्धन नबनेकाले एमालेलाई राहत


काठमाण्डु – लुम्बिनी प्रदेशको तराईको जिल्ला कपिलवस्तुमा १० वटा स्थानीय तह छन् । तीमध्ये ६ वटा नगरपालिका र चारवटा गाउँपालिका हुन् । कपिलवस्तुको दक्षिणी सीमा भारतको उत्तर प्रदेश राज्यसँग जोडिएको छ ।

त्यसैले यहाँको चुनाव पहाडी जिल्लाको भन्दा केही फरक हुन्छ । कपिलवस्तुमा कांग्रेस, एमाले, माओवादी र मधेस केन्द्रिीत दलबीच प्रतिस्पर्धा देखिन्छ । ०७४ सालको स्थानीय चुनावको नतिजाका आधारमा यहाँ कांग्रेसको वर्चस्व छ । उसले १० मध्ये पाँचवटामा जित निकालेको थियो ।

एमाले र स्वतन्त्रले दुई–दुई तथा संघीय समाजवादी फोरमले एक पालिका जितेका थिए । कांग्रेसले सदरमुकामसमेत रहेको कपिलवस्तु, महाराजगन्ज र बुद्धभूमि नगरपालिकामा मेयर–उपमेयर नै जित्यो । वाणगंगा नगरपालिकामा उसले मेयर तथा यशोधरामा अध्यक्ष–उपाध्यक्ष र शुद्धोधनमा उपाध्यक्ष पनि जितेको थियो ।

एमालेले शिवराज नगरपालिकामा मेयर–उपमेयर, वाणगंगामा उपमेयर र विजयनगरमा अध्यक्ष–उपाध्यक्ष जित्यो । मायादेवी गाउँपालिकामा त्यतिबेलाको संघीय फोरमले अध्यक्ष र नयाँ शक्तिले उपाध्यक्ष जितेका थिए । पछि ती दुई दल एक भएर हाल जनता समाजवादी पार्टी बनेको छ । कृष्णनगरको मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी विजयी भएका थिए । शुद्धोधनको अध्यक्ष पनि स्वतन्त्र उम्मेदवारले जितेका थिए ।

जिल्लाको दक्षिणी क्षेत्रमा कांग्रेस बलियो छ । उत्तरी क्षेत्रमा एमालेको प्रभाव छ । केही पालिकामा उल्लेख्य मत भएको फोरम लोकतान्त्रिकसँग एकता भएपछि कांग्रेस झन् बलियो भएको छ । पार्टी विभाजनका कारण एमाले भने पहिलेको अवस्थामा पनि देखिँदैन । कांग्रेसले यसअघिकै अधिकांशलाई दोहो¥याएर टिकट दिएको छ । लोकतान्त्रिकसँगको एकतापछि कांग्रेसले शुद्धोधन गाउँपालिका पनि जित्ने अवस्था बनेको छ ।

दक्षिणी क्षेत्रमा कांग्रेसले फेरि पनि पुरानै नतिजा दोहोर्‍याउन सक्छ । उत्तरी क्षेत्रका पालिकामा तीव्र प्रतिस्पर्धा देखिन्छ । वाणगंगा नगरपालिकामा एमाले र कांग्रेस एक्लै मैदान उत्रिएका छन् । माओवादी, एकीकृत समाजवादी, जसपा र राजमोबीच तालमेल भएको छ । यो पालिकामा गत चुनावमा कांग्रेस र माओवादी मिलेका थिए ।

जिल्लाका धेरै पालिकामा तालमेल भएको छैन । एमाले विभाजन भएकाले एक्लै जितिने निष्कर्ष निकालेर कांग्रेस चुनावमा होमिएको छ । उसले जसपाका केहीलाई भित्र्याएर उम्मेदवार पनि बनाएको छ । तर, जिल्लामा उम्मेदवारको प्रभावले पनि परिणाम तलमाथि हुन सक्छ । किनकि कपिलवस्तुमा बाहुबल पनि चल्ने गरेको छ ।

तर, समग्रमा जिल्लामा कांग्रेस नै पहिलो दल बन्ने देखिन्छ । एकीकृत समाजवादीले धेरै भोट नकाटे एमालेले पहिलेभन्दा केही प्रगति गर्न सक्छ । जिल्लामा आगामी चुनावका लागि ३ लाख ७३ हजार १ सय मतदाता छन् । तीमध्ये १ लाख ९९ हजार २ सय ८७ पुरुष र १ लाख ७३ हजार ९ सय ११ महिला छन् ।

kapilvastu=========p