केन्द्रीय कारागारमा एकै महिनामा ४ सय बढी कैदीबन्दी बिरामी

केन्द्रीय कारागारमा एकै महिनामा ४ सय बढी कैदीबन्दी बिरामी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँको जगन्नाथदेवलमा रहेको केन्द्रीय कारागारका एकै महिनामा चार सयभन्दा बढी कैदीबन्दी बिरामी भएका छन् । कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ ।

कारागार कार्यालय जगन्नाथदेवलका प्रमुख एवं उपसचिव वेदनिधि अधिकारी उपचारका लागि दैनिक १०० कैदीबन्दीलाई उपत्यकाका विभिन्न अस्पतालमा पठाउँदै आएको बताए ।

“ मौसम परिवर्तनको समय भएकोले सामान्य प्रकृतिका रोगको उपचार कारागारको आफ्नै अस्पतालमा गरिन्छ । भने गम्भीर प्रकृतिका रोगको उपचारका लागि उपत्यकाका विभिन्न अस्पतालमा पठाउने गरेका छौँ,” उनले बताए ।

कारागार कार्यालयका अनुसार क्षमताभन्दा बढी भएका कारण पनि अधिकांश कैदीबन्दी बिरामी परेका हुन् । एक सय चार वर्ष पुरानो केन्द्रीय कारागारभित्रको तीनवटा भवनमा हाल दुई हजार ८०३ कैदीबन्दी तथा चार नाबालक रहेका छन् ।

केन्द्रीय कारागारमा एक हजार ६९५, भद्रगोल कारागारमा ७९० र महिला कारागारमा ३१८ कैदीबन्दी रहेका छन् । कारागार व्यवस्थापन विभागका अनुसार हाल नेपालका ७२ जिल्लाका ७४ कारागारमा १८ हजारभन्दा बढी कैदीबन्दी रहेका छन् ।