कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइन : अध्यक्ष प्रचण्ड

कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची होइन : अध्यक्ष प्रचण्ड


चितवन – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेट मत तान्ने खालको नभएर राष्ट्रिय अर्थतन्त्रलाई विस्तारै सन्तुलनमा ल्याउने खालको भएको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा चितवन क्षेत्र नं ३ बाट निर्वा्चित सांसद दाहालले भन्नुभयो, “जनमुखी योजना धेरै आउँदैछन पहिलो गियर लगाइएको छ र उडान भर्दै जान्छ ।”

राष्ट्रिय जनता पार्टी(राजपा) सरकारमा आइहाल्ने निर्णय भएको छैन भन्दै उनले छलफल चलिरहेको बताए । फौज्दारी अभियोग लागेका सांसद्लाई नियमावलीमा छुट दिइए पनि ऐनमा निलम्बन नै शब्द राख्ने कुरामा दलबीच सहमति भइसकेको पनि अध्यक्ष दाहालले बताए । “जनतालाई कुरा बुझाउन नसक्दा नियमावलीको विषयमा मतभेदजस्तो देखिए पनि नियमावलीको भाषा निलम्बनबाहेक अरु अर्थ लाग्ने खालको छैन”, उनले भने ।

काम नगर्ने ठेकेदारलाई सरकारले कडाइपूर्वक कारवाही गर्ने प्रष्ट पार्दै अध्यक्ष दाहालले भने,“म जसको घरमा बसेको छु त्यो घरको मान्छेले पनि गल्ती ग¥यो भने कारवाही हुन्छ ।” सो सन्दर्भमा मिडियामा आएका विषयमा असन्तुष्टि व्यक्त गर्दै उनले कहिलेकाहीँ मिडियामा उल्टोपाल्टो आउने गरेको समेत बताए ।

उनले भने, “मिडियाले आफ्ना लागि कोड अफ कन्डक्ट आफँै बनाउनुपर्ने आवश्यकता बनेको छ । तपाईंहरु आफंैँले कोड अफ कन्डक्ट बनाउनुहोस् । प्रेसको पनि मूल्य, मान्यता र आचारसंहिता हुन्छ, त्यो कुरा प्रेसले नै निधो गरोस् । ” अध्यक्ष दाहालले कार्यकारी राष्ट्रपति अहिलेको कार्यसूची नभएको बरु सुशासन, विकास र समृद्धि रहेको बताउनुभयो । एउटै पार्टीका सभामुख, उपसभामुख तथा राष्ट्रिय सभाका अध्यक्ष र उपाध्यक्ष हुनुहुन्न भन्ने विषयको अर्काे प्रसङ्गमा उनले सभामुख, उपसभामुख हुनुभन्दा अघि उनीहरु पार्टीमा रहे पनि अहिले कुनै पनि पार्टीमा नरहेको बताए ।