भारत गम्भीर नहुँदा समस्या जटिल बन्यो, ओलीले मुठभेडको अवस्थामा पुर्याएः करण सिंह

भारत गम्भीर नहुँदा समस्या जटिल बन्यो, ओलीले मुठभेडको अवस्थामा पुर्याएः करण सिंह


नयाँदिल्ली – भारतीय कांग्रेस आईका नेता करण सिंहले नेपाल–भारत सीमा विदाको विषयमा भारत गम्भीर नबन्दा समस्या उत्पन्न भएको बताएका छन् । नेपालको सीमा समस्या समाधानमा भारत उदाशि बन्दा थप जटिल अवस्था सिर्जना भएको उनले बताएका छन् ।

सोमबार एक विज्ञप्ति जारी गर्दै नेता सिंहले तत्काल विदेश सचिवस्तरीय वार्ता सुरु गरेर आवश्यक परेमा त्यसलाई परराष्ट्रमन्त्री वा प्रधानमन्त्रीको तहसम्म पुर्याउनु पर्ने माग गरेका छन् ।

‘यो गम्भीर कूटनीतिक समस्या देखिन्छ, जसको नतिजा हामीसामु छन् । हामीले यसलाई गम्भीररुपमा लिएनौं । नेपालले यो मुद्दा उठाउने वित्तिकै हामीले तत्काल विदेश सचिवस्तरीय वार्ता सुरु गर्नुपर्थ्यो । त्यसपछि आवश्यक परेको खण्डमा विदेशमन्त्रीस्तरीय र प्रधानमन्त्रीस्तरीय वार्ता पनि गर्नुपर्थ्यो’, सिंहले भने ।

त्यस्तै उनले नेपालसँगको सीमा विवादलाई भारतीय पक्षबाट गम्भीर रुपमा नलिँदा समस्याले जटिल रुप लिएको बताएका छन् ।

यसका कारण भारतलाई जेजस्तो असर परेपनि, नेपाल र नेपाली जनतालाई पनि यसको सकारात्मक प्रभाव नपर्ने उनले बताएका छन् ।

उनले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई भारतसँग पछि फर्किनै नमिल्ने र मुठभेडको अवस्थामा पुर्‍याएको आरोप लगाएका छन् । दुई देशबीचको शदियौंदेखिको अनुपम सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्ध हुँदाहुँदै पनि यो अवस्थामा पुर्‍याएको देख्दा आफूलाई अत्यन्त दुःख लागेको उनले बताएका छन् ।

‘धेरै वर्षदेखि नेपालसँग व्यक्तिगत र राजनैतिक रूपमा निकट सम्बन्ध राख्ने व्यक्तिको हैसियतले म गहिरो पछुतो र निराशा व्यक्त गर्दछु । प्रधानमन्त्री ओलीले देशलाई एउटा यस्तो अपरिवर्तनीय मुठभेडको अवस्थामा पुर्यादिए ’, सिंहले एक विज्ञप्तिमा भनेका छन्, ‘दुई देशबीच गहिरो सामाजिक, सांस्कृतिक, धार्मिक, आर्थिक र राजनीतिक सम्बन्धको बावजुद भारत शताब्दीयौं पछि परेको छ ।’