कर्मचारी नेताहरूकाे सांसदलाई चेतावनी– ‘ट्रेड युनियन अधिकार एक इन्च पनि तलमाथि नहाेस्’

कर्मचारी नेताहरूकाे सांसदलाई चेतावनी– ‘ट्रेड युनियन अधिकार एक इन्च पनि तलमाथि नहाेस्’


काठमाण्डु– निजामती कर्मचारी नेताहरूले ट्रेड युनियन अधिकार खुम्च्याउने बहस नगर्न सांसदहरूलाई चेतावनी दिएका छन्।

संघीय निजामती सेवासम्बन्धी विधेयकमाथि शुक्रबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा कर्मचारी नेताहरूले ट्रेड युनियन अधिकार खुम्च्याउने गरी धेरै बहस नगर्न सुझाएका हुन् ।

नेकपा एमालेनिकट निजामती कर्मचारीहरूको छाता संगठन निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले ट्रेड युनियनलाई व्यवस्थित बनाउन बहस आवश्यक रहेको तर ट्रेड युनियन खारेजीको बहस धेरै नगर्न आग्रह गरे।

नेपाली कांग्रेसनिकट निजामती कर्मचारीहरूको छाता संगठन नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले ट्रेड युनियन अधिकारलाई एक इन्च पनि तलमाथि गर्न नसकिने बताए।

‘ट्रेड युनियन अधिकार एक इन्च पनि तलमाथि गर्न सकिँदैन । अन्यथा, हामीसँग बन्द हडतालसहितको अधिकार छ । यतातिर पुग्न नपरोस्,’ अध्यक्ष पोखरेलले भने ।

संवैधानिक अधिकार खोस्ने बहस नगर्न उनको आग्रह छ । ‘दलीय ट्रेड युनियन भनेर जे बहस गर्नुभएको छ यो बेमौसमको बाजा हो । ट्रेड युनियन संवैधानिक अधिकार भएकाले कतै यस्तो बहस संविधानको बर्खिलाप छ कि !,’ सांसदहरूलाई यस विषयमा ख्याल गर्न अध्यक्ष पोखरेलको आग्रह छ ।