कर्मचारीले दिनहुं भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने

कर्मचारीले दिनहुं भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सबै निजामती कर्मचारीले बिहीबारदेखि कार्यालय प्रवेश गर्नासाथ अनिवार्य रूपमा भ्रष्टाचार नगर्ने शपथ लिनुपर्ने भएको छ। उनीहरूले दिनभर काम गर्दा कुनै किसिमको मोलाहिजा नगर्ने र आफ्नो स्वार्थअनुसार काम नगर्ने शपथ दिनहुँ लिनु पर्नेछ। यससँगै ८८ हजार निजामती कर्मचारीले बिहान कार्यालय समय सुरु हुनासाथ एकै पटक भ्रष्टाचारविरोधी शपथ लिने छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार सबै मन्त्रालय, केन्द्रीय निकाय, आयोग, नियोगलगायतमा पत्राचार गर्दै देशभर रहेका मातहतका कर्मचारीलाई भ्रष्टाचारविरोधी शपथ गराउन निर्देशन दिएको छ। प्रधानमन्त्री कार्यालयको निर्देशनअनुसार सबै कार्यालयले बिहीबारदेखि शपथ लिन लगाउने छन्।

प्रधानमन्त्री कार्यालयले शपथका साथै भ्रष्टाचार नगर्ने बेहोराको साइनबोर्ड देशभर सबै सरकारी कार्यालयमा अनिवार्य रूपमा टाँस्न पनि सर्कुलर गरेको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको सरकारी नीति व्यवहारमा उतार्न यस्तो निर्णय गरिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जानकारी दिए।

प्रधानमन्त्री कार्यालयले शपथको बेहोरा र ढाँचा तयार पारेको छ। कर्मचारीले ‘म भ्रष्टाचार गर्दिनँ, म भ्रष्टाचार हुन दिन्नँ। म देश र जनताका लागि इमान्दार भएर काम गर्ने प्रतिज्ञा गर्छु’ भनेर दैनिक शपथ लिनु पर्नेछ। प्रवक्ता कुँवरले शपथ लिएर पनि कर्मचारीले प्रभावकारी काम गरे नगरेको माथिल्लो तहबाट अनुगमन हुने बताए। आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।