कर्णाली प्रदेश सरकारद्वारा साढे ३१ अर्बको बजेट प्रदेश सभामा पेश

कर्णाली प्रदेश सरकारद्वारा साढे ३१ अर्बको बजेट प्रदेश सभामा पेश


सुर्खेत – कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि झण्डै साढे ३१ अर्बको बजेट प्रदेश सभामा पेश गरेको छ ।

शनिबार आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बराबरको वार्षिक बजेट प्रदेश सभामा पेश गरेका छन् ।

बजेटमध्ये चालूतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार र पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार छ ।

वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात् २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ ।

बजेटमध्ये आन्तरिक राजस्वतर्फ ८३ करोड ४४ लाख ६५ हजार रुपैयाँ अनुमान गरिएको छ । संघीय सरकारबाट राजस्व बाँडफाँट बापतको रकम ९ अर्ब ३८ करोड ५३ लाख प्राप्त भएको छ । वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब ३६ करोड ६३ लाख प्राप्त भएको छ भने सशर्त अनुदानतर्फ ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ प्राप्त भएको जनाइएको छ ।

संघीय सरकारबाट समपूरक अनुदानतर्फ १ अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड ६५ लाख रुपैयाँ प्राप्त भएको छ ।

आगामी आर्थिक वर्षको कूल बजेटबाट कर्णाली प्रदेश सरकारले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमार्फत १ अर्ब ८६ करोड, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत १ अर्ब ९४ करोड, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयमार्फत् १० अर्ब ४६ करोड, आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत २९ करोड ६४ लाख, सामाजिक विकास मन्त्रालयमार्फत ५ अर्ब ७२ करोड रुपैयाँ विभिन्न आयोजना तथा कार्यक्रम कार्यान्वयनका लागि रकम विनियोजन गरेको छ ।