सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका छन्।
उमेर हदका कारण सेवा निवृत्त भएका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव दानरत्न शाक्यको बिदाइ कार्यक्रममा मुख्यमन्त्री शाहीले साना र वितरणमुखी योजना प्रदेश सरकारले कार्यान्वयन नगर्ने बताएका हुन्। उनको यो भनाइ संघीय सरकारप्रति लक्षित थियो।
कर्णालीको विकास र समृद्धिको लागि वृहत गुरुयोजनाको आवश्यक रहेको उल्लेख गर्दै मुख्यमन्त्री शाहीले सयौं विज्ञ जनशक्तिको सहयोग लिएर स्थानीय आवश्यकताका आधारमा योजना निर्माण तथा कार्यान्वयनमा सरकार लागिरहेको बताए।
भौतिक पूर्वाधार विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका उनले कर्णालीको आर्थिक, सामाजिक तथा जनताको जीवनस्तरमा परिवर्तन गर्ने खालका ठूला योजनामा सरकारले लगानी केन्द्रित गर्ने नीति लिएको स्पष्ट गरे।
खुद्रा व्यापार गरेजस्तो विकास गरेर कर्णाली बनाउन नसकिने भन्दै उनले कर्णाली निर्माणका लागि ठूलो लगानीसहित तीव्रगतिमा विकासको कार्यलाई अगाडि बढाउनुपर्ने धारणा व्यक्त गरे।
प्रतिक्रिया