प्रधानमन्त्री नआउने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित

प्रधानमन्त्री नआउने भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित


काठमाण्डु-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह अन्तिम समयमा स्थगित भएको छ ।

दीक्षान्त समारोहको सम्पूर्ण तयारी भइसकको अन्तिम समयमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नहुने भएपछि कार्यक्रम नै स्थगित गरिएको हो ।

प्रतिष्ठानका उपकुलपति डा. मङ्गल रावलले प्रधानमन्त्री ओली समारोहमा नआउने सूचना अन्तिम समयमा आएको हुनाले कार्यक्रम नै स्थगित गर्नुपरेको बताए ।

दीक्षान्त समारोह प्रतिष्ठान स्थापना भएको १३ वर्षपछि आजका लागि तय भएको थियो । त्यसका लागि सम्पूर्ण तयारी भइसकेको थियो । कार्यक्रमको तयारीका लागि लाखौँ रकम खर्च भइसक्दा प्रधानमन्त्री एक्कासि नआउने भएपछि जुम्ला पुगेका पाहुनाहरू भने निराश बनेका छन् ।

कार्यक्रममा प्रधानमन्त्री ओलीसहित स्वास्थ्यमन्त्री प्रदीप पौडेल पनि सहभागी हुने कार्यक्रम थियो ।

कार्यक्रमका लागि विभिन्न ठाउँबाट दीक्षित हुने व्यक्ति, सुरक्षा निकायदेखि सरोकारवाला व्यक्तिहरूको समेत जुम्लामा सहभागिता भइसकेको थियो ।

स्थगित दीक्षान्त कार्यक्रम अब कार्तिक २८ गते हुनेछ । समारोहमा जनस्वास्थ्य, नर्सिङ, र चिकित्साशास्त्र विषयमा स्नातक तथा स्नातकोत्तर तहका ५६ जना विद्यार्थीहरूलाई दीक्षित गरिने कार्यक्रम थियो ।

बीपीएचका दुई ब्याचका ३८ विद्यार्थी, बीएमएसका १३ विद्यार्थी र एमडीजीपी, एमडी एनेस्थेसिया, एमडी पेडियाट्रिक्स विषयका ५ विद्यार्थी दीक्षित गरिने तय भएको थियो ।

प्रधानमन्त्री ओलीले दीक्षान्त समारोहसँगै प्रतिष्ठानको शैक्षिक भवन र तिलगंगा आँखा अस्पतालको सहयोगमा सञ्चालन हुन लागेको आँखा केन्द्रको पनि उदटन गर्ने कार्यक्रम पनि थियो ।