कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा पुण्यप्रसाद रेग्मी

कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा पुण्यप्रसाद रेग्मी


सुर्खेत – कर्णाली प्रदेश सरकारले प्रदेश योजना आयोगको उपाध्यक्षमा प्रा डा.पुण्यप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उपाध्यक्षमा रेग्मीसहित सदस्यहरुमा डा दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई नियुक्त गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठनको स्वीकृति दिएको थियो । मुख्यमन्त्री अध्यक्ष रहने प्रदेश योजना आयोगमा प्रदेश सरकारका प्रमुख सचिव पदेन सदस्य र आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव सदस्य सचिव रहने व्यवस्था छ ।

रामपुर कृषि क्याम्पसका प्राध्यापक रेग्मीले कृषि विज्ञानमा विद्यावारिधि गरेका छन् । दैलेखनारायण नगरपालिका– ३ निवासी रेग्मीले यसअघि युवा स्वरोजगार कोषको उपाध्यक्ष र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका आर्थिक सल्लाहकारको रूपमा काम गरिसकेका छन् ।