कश्मीर निर्णयविरुद्धका मुद्दा भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने

कश्मीर निर्णयविरुद्धका मुद्दा भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने


नयाँ दिल्ली – जम्मू-कश्मीर राज्यको विशेषाधिकार खोस्ने केन्द्रीय सरकारको निर्णयविरुद्ध दर्ता भएका निवेदनहरूको भारतको सर्वोच्च अदालतले सुनुवाइ गर्ने भएको छ।गत अगस्ट ५ मा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले सो कदम चालेपछि अहिलेसम्म कश्मीर बन्दको अवस्थामा रहेको छ।

भारत-प्रशासित कश्मीरको विशेष संवैधानिक मान्यता खोस्ने निर्णयविरुद्ध परेका १४ वटै मुद्दाको सुनुवाइ अक्टोबर महिनाको पहिलो साता हुने बताइएको छ। पांच न्यायाधीशको संवैधानिक इजलासले ती निवेदनहरूको सुनुवाइ गर्ने भएको छ। अदालतले कश्मीरमा सञ्चार बन्द गरेको र सञ्चारमाध्यममा प्रतिबन्ध लगाएको विरोध गर्नेहरूलाई उत्तर दिन सरकारलाई आदेश दिएको हो।

मोबाइल नेटवर्क र इन्टरनेट बन्द भएकाले उक्त क्षेत्रबाट अतिकम समाचार बाहिर आएको छ। केही ल्यान्डलाइन फोन भने केही समय पहिला चल्न थालेका छन्। भारतीय जनता पार्टीले नेतृत्व गरेको सरकारले कश्मीरमा हिंसा फैलन नदिन तथा त्यहां शान्तिसुरक्षा कायम राख्न त्यस्ता बन्देज लगाउनुपरेको तर्क गर्दै आफ्नो प्रतिरक्षा गरेको छ।

नयाँ दिल्लीको हस्तक्षेपको विरोध गर्दै मुसलमानबहुल कश्मीर उपत्यकामा प्रदर्शनहरू भएका छन्। केही हिंसात्मक घटना पनि भएका छन् भारतीय संविधानको धारा ३७० ले कश्मीरलाई केही स्वायत्तता दिएको थियो। सो धाराले कश्मीरवासाीलाई सम्पत्तिको स्वामित्व, शिक्षा र रोजगारीमा विशेष विशेष सुविधा दिएको थियो।

भारत-प्रशासित जम्मू र कश्मीरमा ३० वर्षसम्म भारतीय शासनविरुद्ध भएको पृथक्तावादी विद्रोहले उक्त क्षेत्र हिंसाग्रस्त भएको छ। सरकारले अगस्ट ५ मा विशेष कदम चाल्नुअघि कश्मीरमा ठूलो सङ्ख्यामा सशस्त्र फौज परिचालन गरेको थियो।