काठमाण्डु – राजसंस्था र गणतन्त्रको पक्षमा चैत १५ गते हुने छुट्टाछुट्टै प्रदर्शनका लागि स्थानीय प्रशासनले स्थान निर्धारण गरेको छ ।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाण्डुले गणतन्त्र पक्षधर समाजवादी मोर्चा (नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा) लाई भृकुटीमण्डपमा प्रदर्शन गर्न अनुमति दिएको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’लाई प्रदर्शन गर्न तीनकुने स्थान तोकिएको छ । तर राजसंस्थाको पक्षमा नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले प्रदर्शनबारे प्रशासनलाई जानकारी गराएको छैन ।
समाजवादी मोर्चाले भृकुटीमण्डप र राजावादी समूहले तीनकुनेमा प्रदर्शन गर्नेबारे जानकारी गराएको काठमाण्डुका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए । सार्वजनिक स्थानमा प्रदर्शन गर्न प्रशासन कार्यालयलाई जानकारी गराउनुपर्ने वा अनुमति लिनुपर्ने व्यवस्था छ ।
गृह मन्त्रालयमा बसेको सुरक्षा समितिको बैठकमा चैत १५ गते हुने २ वटा प्रदर्शनबारे छलफल गरेर सुरक्षा तयारी थालिएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डु आउँदा स्वागत गर्दै शक्ति प्रदर्शन गरेको राजावादी समूह त्यसयता हौंसिएको छ भने तरङ्गित बनेका गणतन्त्रवादी दलहरू पनि गणतन्त्रको रक्षाका लागि शक्ति प्रदर्शनको मैदानमा उत्रिएका छन् ।
प्रतिक्रिया