काठमाण्डु महानगरमा मेयर बालेनको अडानविरुद्ध उपमेयर सुनिताको ‘सफल’ विद्रोह !

काठमाण्डु महानगरमा मेयर बालेनको अडानविरुद्ध उपमेयर सुनिताको ‘सफल’ विद्रोह !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गत चैत ११ गते सामाजिक सञ्जाल फेसबूकमा लेख्दै काठमाण्डु महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाह ‘बालेन’ले सफाइ कर्मचारीले ३ महिनादेखि तलब नपाएको गुनासो गरे ।

उनले सामाजिक सञ्जालमा लेखे, ‘काठमाण्डु महानगरपालिकाका सरसफाइ कर्मचारीले विगत ३ महिनादेखि तलब पाको छैन, सरकारको दम्भले ! को–कोले के–के आन्दोलन गर्ने हो, मलाई थाह छैन, अबको १ हप्तामा हाम्रो कर्मचारीले तलब पाएन भने सबैलाई टुकुचामा गाडदिन्छु ! त्यो पछि हेरौंला तिमीहरूको के–के तन्त्र हो !’

मेयर बालेनको १ हप्ते अल्टिमेटम यत्तिकै नाघ्यो । न कर्मचारीले तलब पाए, न कोही टुकुचामा गाडिए । कर्मचारीले तलब नपाउनुको कारण थियो – महानगरमा प्रमुख प्रशासकीय अधिकृत हाजिर नहुनु । मेयर बालेनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हाजिर हुन दिएका थिएनन्, सरकारले अर्काे प्रमुख प्रशासकीय अधिकृत पठाइदिएन ।

भएका प्रमुख प्रशासकीय अधिकृतलाई मेयर बालेनले हाजिर हुन नदिने र अर्काेलाई सरकारले नपठाउने लडाइँबीच महानगरका कर्मचारी, शिक्षक, नगर प्रहरी, जनप्रतिनिधि कसैले पनि तलबसुविधा पाएका थिएनन् । स्थानीय तहमा बजेट खर्च गर्ने आर्थिक अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुन्छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले वडा नम्बर २८ स्थित काठमाण्डु टावर परियोजनाको नक्शा पास गर्दा अनियमितता गरेको मेयर बालेनको आरोप छ । तर छानबिनबाट दोषी नदेखिएको तथा कुनै कारवाही नभएको भन्दै उनीबाट नै कामकाज गर्नुपर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन थियो । मेयर बालेनले गुरागाईंलाई सरुवा गरी अर्काे प्रमुख कार्यकारी अधिकृत पठाउन आग्रह गरे पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै हाजिर गर्ने वातावरण बनाइदिनु १ महिनाअघि पत्र पठाएको थियो । तैपनि मेयर बालेनले गुरागाईंलाई काम गर्न दिने अवस्था थिएन । बरु उनको कार्यकक्षमा ताला लगाउने, गाडी खोस्ने काम मेयर बालेनको निर्देशनमा भएको थियो । सरकारले नयाँ प्रमुख प्रशासकीय अधिकृत नपठाएपछि आक्रोशित हुँदै उनले ‘सबैलाई टुकुचामा गाडिदिने’ चेतावनी दिएका थिए ।

मेयर बालेनले सामाजिक सञ्जालबाट धम्क्याएर सरकारले डराउने अवस्था थिएन । भएको प्रमुख प्रशासकीय अधिकृतलाई काम गर्न नदिने र नयाँ सरकारले नपठाउने अवस्थामा तलब खाने कर्मचारी मर्कामा परेका थिए ।

मेयर बालेनले गुरागाईंको बाटो छेक्दा महानगरभित्र संकट लम्बिँदै गयो । परिणामस्वरूप बिहीबार महानगरमा मेयरको अडानविरुद्ध विद्रोह भयो, उपमेयर सुनिता डङ्गोलको नेतृत्वमा भएको विद्रोहमा अधिकांश जनप्रतिनिधि र कर्मचारीले साथ दिए । मेयर बालेनको निर्देशनअनुसार प्रमुख प्रशासकीय अधिकृत रोक्न प्रयास गरे पनि समयमै तलब नपाएका नगर प्रहरीहरू सफल भएनन्, सायद तलब नपाएर नगर प्रहरीहरूको शक्ति ह्रास भइसकेको हुनसक्छ ।

प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेपछि अब नियमित काम–कारवाही सञ्चालन भएमा कर्मचारी, शिक्षक, जनप्रतिनिधिसहित नगर प्रहरीहरू समेतले तलब पाउनेछन् । यसरी महानगरभित्र देखिएको आर्थिक संकट समाधान हुनेछ ।

मेयर बालेनले महानगरको संकट समाधानभन्दा पनि अडान लिएर लम्ब्याउने देखिएपछि जनप्रतिनिधि र कर्मचारी मिलेर विद्रोह सफल पारेका छन् । मेयर बालेनको इच्छाविपरीत र नगर प्रहरीको अवरोधबीच प्रमुख प्रशासकीय अधिकृत हाजिर भइसकेपछि मेयरको अडानविरुद्धको विद्रोह सफल भएको देखिन्छ ।

काठमाण्डु महानगरमा मेयर बालेन स्पष्ट अडानका साथ कार्यसञ्चालन गरिरहेका थिए । उनले लिएको अडानलाई कार्यान्वयन गर्ने छवि बनाएका थिए । तर यसपालि उनी चुकेका छन् । उनीविरुद्ध उपमेयरसहित अधिकांश जनप्रतिनिधि र कर्मचारी उभिएपछि उनलाई थप अप्ठ्यारो पर्नसक्ने देखिन्छ ।

उपप्रमुख डङ्गोलले मेयर बालेनले निर्देशन मात्रै दिने नभई कार्यालयमा आएर समस्या समाधान गर्नुपर्ने तर्क गरिन् । मेयरको निर्देशनमा नगर प्रहरीले प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न खोजेपछि उपमेयर डङ्गोलले अगुवाइ गर्दै अवरोध हटाएकी थिइन् । उपमेयर र नगर प्रहरीबीच चर्काचर्की समेत भएको थियो ।

उनले भनिन्, ‘मन्त्रालयबाट पठाएपछि प्रमुख प्रशासकीय अधिकृत हाजिर गर्न आउनुभएको छ । उहाँ हाजिर गर्न आउँदा झडपको अवस्था हुनु राम्रो होइन । कर्मचारी–कर्मचारीबीच लडाइँ हुनु पनि राम्रो होइन ।’

उपप्रमुख डंगोलले प्रमुख प्रशासकीय अधिकृत दोषी प्रमाणित भएको अवस्थामा कारबाही गर्न तयार रहेको बताइन् । उनले भनिन्, ‘अहिले उहाँलाई हाजिर गर्ने व्यवस्था गर्नुपर्छ । हजारौं कर्मचारी र लाखौं काठमाडौंवासीले दुःख पाएका छन् । क्यान्सर पीडितलाई पनि हामीले पैसा दिन सकेका छैनौं । अझै छानबिन गर्नुपर्ने भए गर्ने हो । तर पीडामा राख्नु हुँदैन । यो तमासा हामीले हेर्नुपर्ने ? मेयरको आदेश हो भने मेयर अघि आउनुपर्छ । होइन भने कोठामा बसेर आदेश दिन पाइँदैन । पहिला आजको विषय समाधान गर्छौं । त्यसपछि बोर्ड बैठक बस्छौं । आजका लागि यो समस्या समाधान गर्नुपर्छ ।’