खाने तेलका यी ४ ब्राण्डमा ‘पेरोक्साइड भ्यालु’ अत्यधिक, काठमाण्डु महानगरले कारवाही गर्दै

खाने तेलका यी ४ ब्राण्डमा ‘पेरोक्साइड भ्यालु’ अत्यधिक, काठमाण्डु महानगरले कारवाही गर्दै


काठमाण्डु – काठमाण्डु महानगरपालिकाले १३ ब्राण्डका खाने तेलको नमूना परीक्षण गर्दा ४ वटा ब्राण्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ ।

यसरी मापदण्डभन्दा धेरै पेरोक्साइड भ्यालु र एसिड भ्यालुको मान सरकारले सोयाबिन तेलका लागि तोकेको अनिवार्य गुणस्तर नहुनेमा, २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्राण्डको व्याच/लट नम्बर (एस)–२ को रिफाइन सोयाबिन आयल एउटा हो । यो श्रीराम रिफाइन्ड आयल प्राडक्ट मोरङको उत्पादन हो ।

२०८० कात्तिकमा उत्पादन भएको अमृत ब्राण्डको व्याच/लट नम्बर ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्राण्डको व्याच/लट नम्बर ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको हो । यी उत्पादनहरू क्रमशः अन्नपूर्ण भेजिटेवल प्रोडक्ट प्रालि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि कटहरी विराटनगरका हुन् ।

२०८० माघमा उत्पादन भएको, ब्याच/लट नम्बर १० को फेमिली ब्राण्डको आयातीत तोरीको गेडाबाट स्वदेशमा उत्पादन भएको तोरीको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएको, कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो ।

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्राण्डहरू हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको छ । नमूना परीक्षणका लागि बैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारवाही गरिएको छ ।

‘नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो,’ न्यौपानेले भने ।

यसरी मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थिति हुन पत्राचार गरिएको छ ।