काठमाण्डु महानगरको बजेट संशोधन प्रस्ताव पारित

काठमाण्डु महानगरको बजेट संशोधन प्रस्ताव पारित


काठमाण्डु – काठमाण्डु महानगरपालिकाको १६औं नगर सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्यक्रम तथा बजेट संशोधन प्रस्ताव पारित गरेको छ ।

आईतबार प्रज्ञा भवन कमलादीमा महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’को अध्यक्षतामा बसेको नगर सभाको १६औं अधिवेशनले उपप्रमुख एवं बजेट तर्जुमा समितिका संयोजक सुनिता डंगोलले पेश गरेको कार्यक्रम तथा बजेट संशोधनसहित आर्थिक ऐन २०८१ र विनियोजन ऐन २०८१ को पहिलो संशोधन प्रस्तावमा छलफल गर्दै पारित गरेको छ ।

संशोधन अनुसार ७२ करोड ९९ लाख ७१ हजार रुपैयाँ बजेट विनियोजन भएको आर्थिक विकासको क्षेत्रमा ७२ करोड ४३ लाख ७१ हजार बजेट कायम गरिएको छ । ३ अर्ब ७० करोड ५३ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएको कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३ अर्ब ७२ करोड ६८ लाख ४२ हजार रुपैयाँ कायम गरिएको छ । १२ अर्ब १ करोड ९३ लाख ९१ हजार रुपैयाँ विनियोजन भएको पूर्वाधार विकासको क्षेत्रमा ११ अर्ब ८७ करोड ५१ लाख ३८ हजार रुपैयाँ कायम गरिएको छ ।

उपप्रमुख डंगोलका अनुसार स्वीकृत कुल बजेट रकम, चालू खर्च रकम र पुँजीगत खर्च रकममा थपघट नहुने गरी क्रियाकलापहरूमा मात्र संशोधनका लागि सभामा प्रस्ताव पेश गरिएको थियो । प्रस्तावमाथि नगरसभा सदस्यहरू विमलकुमार होडा, मचाराजा महर्जन, पुष्प महर्जन, रत्नाकर बज्राचार्य र सन्तोष ढुंगेलले धारणा राखेका थिए ।

सभाबाट ५ अर्ब ४८ करोड ८६ लाख ६९ हजार रुपैयाँ विनियोजन भएको सामाजिक विकासका क्षेत्रमा ५ अर्ब ३५ करोड ३३ लाख ८८ हजार रुपैयाँ कायम गरिएको छ । २ अर्ब ९६ करोड २९ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ अर्ब २२ करोड ६५ लाख ८५ हजार रुपैयाँ कायम गरिएको छ ।

नगर सभाको १५औं अधिवेशनबाट चालू आर्थिक वर्षका लागि २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँ विनियोजन गरेको थियो । यसमध्ये २०८१ पुस ११ गतेसम्ममा ४ अर्ब १ करोड ४ लाख ५६ हजार रुपैयाँ खर्च भएको छ । यो रकम विनियोजनको १६.१० प्रतिशत हो । खर्चलाई प्रतिशतमा हेर्दा चालूतर्फ २३.५८ प्रतिशत र पूँजीगततर्फ १०.९२ प्रतिशत भएको छ । यस अवधिमा पूर्वाधार विकासमा १२.१३ प्रतिशत, आर्थिक विकासमा २४.१८ प्रतिशत, सामाजिक विकासमा १२.२३ प्रतिशत खर्च भएको छ । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रमा ७.९२ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ३६.५४ प्रतिशत खर्च भएको छ ।

चालू आर्थिक वर्ष १२ अरब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ आय हुने लक्ष्य राखिएकोमा आन्तरिक राजस्व असुलीको लक्ष्य ८ अर्ब ३ करोड ५७ लाख रुपैयाँ छ । पुस ११ गतेसम्ममा ४ अर्ब ९ करोड ८९ लाख ३६ हजार रुपैयाँ आन्तरिक, राजस्व बाँडफाँट र सशर्त अनुदानबापत प्राप्त भएको छ । यसमा आन्तरिकतर्फ कुल २ अर्ब ६१ करोड ५५ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको छ । राजस्व बाँडफाँटबाट ५९ करोड ८९ लाख ४१ हजार रुपैयाँ र संघ तथा प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान ८८ करोड ४४ लाख ५१ हजार रुपैयाँ प्राप्त भएको छ । आम्दानीको लक्ष्यमध्ये अहिलेसम्ममा ३१.०७ प्रतिशत प्राप्त भएको छ, आन्तरिकतर्फ लक्ष्यको ३२.५५ प्रतिशत प्रगति भएको छ ।

नगर सभाको १५औं अधिवेशनबाट स्वीकृत नीति तथा कार्यक्रममा विनियोजित वजेटहरुमा कुनै योजना सञ्चालन गर्न नसकिने, कुनैमा आर्थिक कार्यविधि अनुसार समय लाग्ने, कुनै बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन गर्नुपर्ने भएकाले विनियोजित रकम कुनैमा बचत हुने र कुनैमा नपुग हुने देखिएको तथा केही अत्यावश्यक योजना तथा कार्यक्रमहरूका लागि बजेट विनियोजन गर्नुपर्ने देखिएको थियो । यसकारण सभामा संशोधन प्रस्ताव पेश गरिएको थियो ।

आईतबारको सभाले २०७३/०७४ देखि २०७९/०८० सम्म नियमित गराउनुपर्ने र सम्परीक्षण गराउनुपर्ने बेरुजु रकममध्ये २३ करोड ५८ लाख १८ हजार ११० रुपैयाँ नियमित गराउन तथा सम्परीक्षण गराउन महालेखा परीक्षकको कार्यालयमा पेश गर्न पठाउने निर्णय गरेको छ । यो प्रस्ताव नगर सभाअन्तर्गतको लेखा समितिका संयोजक गायत्री पुडासैनीले सभामा पेश गरेका थिए । पुडासैनीका अनुसार महालेखा परीक्षकको कार्यालयकोे प्रतिवेदनले औंल्याएको फस्र्योट हुन बाँकी बेरुजुमध्ये २ करोड ७० लाख ९९ हजार ७५६ हजार रुपैयाँ नियमित गराउन र २० करोड ८७ लाख १८ हजार ३५४ रुपैयाँ सम्परीक्षण गराउन प्रमाण प्राप्त भएकोले फस्र्योट प्रक्रियाका लागि सभामा पेश गरिएको छ ।

सभामा काठमाण्डु नगरपालिकालाई महानगरपालिका घोषणा गर्ने, महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल (प्रेमलाल) सिंहको स्मृतिमा मौन धारण गरिएको थियो ।

विविधअन्तर्गत ३०औं महानगर दिवस २०८१ का अवसरमा प्रदान गरिएको जनप्रतिनिधि सम्मान गरिएको थियो । यसअन्तर्गत स्थानीय सेवा गौरव पुरस्कारबाट वडा नम्बर ४ का अध्यक्ष दिनेश महर्जन, वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापती, वडा नम्बर ६ का अध्यक्ष भवन लामा, वडा नम्बर १४ का अध्यक्ष सुमन श्रेष्ठ, वडा नम्बर १६ का वडा सदस्य पुष्प महर्जन, वडा नम्बर २४ का अध्यक्ष विनोदकुमार राजभण्डारी र वडा नम्बर २७ का अध्यक्ष योगेशकुमार खड्गीलाई सम्मानित गरिएको छ ।

वडा नम्बर ८ का सदस्य राज्यलक्ष्मी भुसाल, वडा नम्बर १० का सदस्य सुनिता भित्रकोटी, वडा नम्बर १७ का सदस्य कमला महर्जन र वडा नम्बर ३१ का सदस्य सान्नानी मिजारलाई साधना प्रधान अग्रणी महिला पुरस्कारबाट सम्मानित गरिएको छ । वडा नम्बर ११ का सदस्य सरोजकुमार मुल्मी र वडा नम्बर २ का सदस्य ईश्वरी परियारलाई जनकमान श्रेष्ठ सुशासन पुरस्कारबाट सम्मानित गरिएको छ ।