उपत्यकामा बाढीको जोखिम, सरकारले जारी गर्‍यो ‘हाई अर्लट’ सूचना

उपत्यकामा बाढीको जोखिम, सरकारले जारी गर्‍यो ‘हाई अर्लट’ सूचना

डुबान हुने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह


काठमाण्डु-काठमाडौं उपत्यकामा गएरातिदेखि भइरहेको भारी वर्षाका कारण उपत्यकाका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ ।

गएराति भएको वर्षाका कारण वाग्मती र यसका सहायक नदीहरू हनुमन्ते, मनोहरा, धोविखोला, विष्णुमती, नख्खु, बल्खुखोलालगायत सबै नदीहरूमा जलसतह सतर्कता तहदेखि खतराको तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

ठूलो बाढी आएकाले डुबान हुने क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान अलर्ट जारी गर्दै उपत्यकाका बागमती, हनुमन्ते, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, बल्खुखोलामा जलसतह सतर्कता–खतरा नजिक रहेकाले होसियारी अपनाउन आग्रह गरेको छ ।

‘किनारको सडक र बस्तीमा बाढी आउन सक्ने, किनारबाट यात्रा नगरौँ। डुबान हुने स्थानमा रहनेहरू १० बजेसम्म सुरक्षित रहौँ,’ महाशाखाले भनेको छ ।

उपत्यकाका अधिकांश स्थानमा भारी तथा एक ठाउँमा धेरै भारी वर्षा भएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८ बजेर ९ मिनेटमा दिएको विवरणअनुसार २४ घण्टामा उपत्यकको एक स्थामा धेरै भारी अर्थात् सय मिलिमिटरभन्दा माथि वर्षा भएको छ । काठमाडौँको धापपड्याम वर्षा मापन केन्द्रमा १०८ मिलिमिटर वर्षा मापन भएको हो ।

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार काठमाडौँ उपत्यकामा आज रातभर वर्षा भएको थियो ।

महाशाखाको विवरणअनुसार काठमाडौँको बूढानीलकण्ठमा विगत २४ घण्टामा ९० मिलिमिटर वर्षा भएको छ भने दोस्रोमा भक्तपुरको नगरेकोटमा ८३.२ मिलिमिटर वर्षा भएको छ ।

यस्तै ललितपुरको गोदावरीमा ७६.४ मिलिमिटर वर्षा भएको छ भने यसपछि काठमाडौँको कपनमा ७४ मिलिमिटर वर्षा भएको छ ।

यसैगरी ललितपुरको टिकाथलीमा ६७.४ मिलिमिटर, काठमाडौँको कीर्तिपुरमा ६५ मिलिमिटर, बबरमहलमा ६२.२ मिलिमिटर, नैकापमा ६१.४ मिलिमिटर तथा सुन्दरीजलमा ६०.६ मिलिमिटर वर्षा भएको छ ।

यस्तै सो अवधिमा भक्तपुरको ताथलीमा ५९.४ मिलिमिटर वर्षा भएको छ भने ललितपुरको ५७.४ मिलिमिटर वर्षा भएको मौसम महाशाखाको विवरणमा उल्लेख गरिएको छ ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथिको वर्षा भयो भने त्यसलाई भारी वर्ष भनिन्छ भने सय मिलिमिटरभन्दा माथि वर्षा भयो भने त्यसलाई धेरै भारी वर्षा भनिन्छ ।