काठमाण्डु – काठमाण्डु मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको तेस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको आर्मी ३०.१ ओभरमा ८७ रन बनाएर अल आउट भयो ।
आर्मीका लोकेश बमले २४ बलमा ३ छक्का र २ चौका सहित सर्वाधिक ३२ रनको योगदान दिए । विक्रम सोबले ३४ बलमा २ छक्का सहित १४ रन बनाए । रोहित कुमार पौडेलले ४५ बलमा १ छक्का सहित १३ रन बनाए । राष्ट्रिय टोलीका खेलाडीले भरिभराउ आर्मीका ८ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एक समय ४३–८ को कमजोर अवस्थामा रहेको आर्मीलाई विक्रम सोब र लोकेश बमले ४१ रनको साझेदारी गरेका थिए । दोस्रो ओभरको पहिलो बलमा स्पिनर सागर ढकालले कुशल भुर्तेलबाट क्याच गराउँदै पहिलो सफलता दिलाएका थिए । सातौं ओभरको दोस्रो बलमा हरि चौहानलाई पवन सरार्फले ४ रनमा बोल्ड आउट गरे । लगत्तै आठौं ओभरको पहिलो बलमा सागरलेनै राजु रिजाललाई ४ रनमा अनिल साहबाट क्याच आउट गराए ।
सागरले राजेश पुलामी मगरलाई ६ रनमा क्याच आउट गराए । पवन सरार्फले कुशल मल्ललाई शून्य र सुशन भारी १ रनमा आउट गर्दा आर्मी १६.१ ओभरमा २५–६ को अवस्थामा पुगेको थियो । आर्मीले १० रन जोड्न शीर्षक्रमका ५ विकेट गुमाएपछि संकटमा परेको थियो । कप्तान विनोद भण्डारीलाई सागरले ३ रनमा बोल्ड आउट गरेपछि आर्मी ३२–७ को संकटमा पुगेको थियो ।
पुलिसका स्पिनर सागर ढकालले १० ओभरमा २ मेडन सहित ४० रन खर्चेर ५ विकेट लिए । पवन सरार्फ १० ओभरमा ५ मेडन सहित १४ रन खर्चेर ३ विकेट लिए । ललित नारायण राजवंशीले २ विकेट लिए ।
प्रतिक्रिया