काठमाडौं प्रहरी अवार्डः डिएसपीतर्फ लिम्बु र केसीलाई

काठमाडौं प्रहरी अवार्डः डिएसपीतर्फ लिम्बु र केसीलाई


काठमाडाैं– महानगरीय प्रहरी परिसर, काठमाडौंले स्थापना गरेको काठमाडौं प्रहरी अवार्ड प्रहरी नायब उपरीक्षक (डिएसपी) तर्फ टेकुनन्द इवा लिम्बु र गौतमकुमार केसीले संयुक्त रुपमा पाएका छन् ।

लिम्बु हाल महानगरीय प्रहरी वृत्त, जनसेवा र केसी प्रहरी वृत्त, लैनचौर प्रमुख छन् । उत्कृष्ट डिएसपी घोषित उनीहरुले संयुक्त रुपमा ५० हजार रुपैयाँ पाएका छन् । बुधबार परिसरमा आयोजित एक समारोहका बीच उनीहरुलाई पुरस्कृत गरिएको हो ।

 प्रहरी निरीक्षकतर्फ प्रहरी परिसर, काठमाडौंमा कार्यरत् अनिलकुमार अधिकारी र महानगरीय प्रहरी वृत्त दरबारमार्गमा कार्यरत् जितेन्द्र श्रेष्ठ उत्कृष्ट घोषित भएका छन् । उनीहरुले संयुक्त रुपमा जनही ३५ हजार रुपैयाँ पाए ।

पुरस्कार छनौठ समितिका संयोजक एसपी रामदत्त जोशीका अनुसार प्रहरी नायब निरीक्षकतर्फ मिनशादुर खड्का र पूर्णबहादुर कठायत, प्रहरी सहायक निरीक्षकतर्फ सुरेन्द्रबहादुर बसेल र विश्वभुषण खड्का पुरस्कृत भएका छन् ।

‘प्रहरी नायब निरीक्षकको पुरस्कार राशि २५ हजार रुपैयाँ र प्रहरी सहायक निरीक्षकको २० हजार रुपैयाँ छ’, उनले भने, ‘प्रहरी हवल्दारतर्फ किशोरकुमरा गोले र रुपबहादुर थापा पुरस्कृत भएका छन् । उनीहरुले १५ हजार रुपैयाँ संयुक्त रुपमा पाएका छन् ।’

प्रहरी जवानतर्फ कमलप्रसाद देवकोटा र जीवन श्रेष्ठ १० हजार रुपैयाँसहित पुरस्कृत भए ।