काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति सिफारिस समिति विवादित

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति सिफारिस समिति विवादित

कुलपति ओलीले दिए मेडिकल क्षेत्रका प्राध्यापकहरूले निवेदन दिन पाउने कार्यविधि बनाउन निर्देशन


काठमाण्डु – काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्ति सिफारिस समिति विवादित बनेपछि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया लम्बिने भएको छ । विश्वविद्यालयका उपकुलपति भोला थापाको कार्यकाल आइतबारबाट सकिए पनि नयाँ उपकुलपति सिफारिस गर्न बनेको समिति विवादित भएपछि नियुक्ति प्रक्रिया लम्बिने भएको हो ।

विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा संयोजकत्वमा प्रा.डा. अर्जुन कार्की र पूर्वशिक्षा सचिव जनार्दन नेपाल सदस्य रहेको समितिले मेडिकलका प्राध्यापकहरुलाई निवेदन दिनबाटै बञ्चित हुने गरी कार्यविधि बनाएको थियो । त्यसपछि सुरु भएको विवाद अहिले कार्यविधि परिवर्तन गरेर मेडिकल क्षेत्रका प्राध्यापकलाई पनि उपकुलपतिका लागि निवेदन दिन पाउने बनाउनुपर्ने सम्म पुगेको छ ।

विश्वविद्यालयको शुक्रबारको सिनेट बैठकमा कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल क्षेत्रका प्राध्यापकहरुले समेत निवेदन दिन पाउने गरी कार्यविधि बनाउन समितिलाई निर्देशन दिएपछि नयाँ उपकुलपति नियुक्ति प्रक्रिया लम्बिने निश्चित भएको हो ।

काठमाडौं विश्वविद्यालयको अंग स्कुल अफ मेडिकल साइन्सेसमा २ हजारभन्दा बढी चिकित्सकसहित ५ हजारभन्दा बढी स्वास्थ्य जनशक्ति उत्पादन भइसकेकाले त्यो संकायबाट विश्वविद्यालयको उपकुलपतिमा चिकित्सा क्षेत्रका प्राध्यापकले दरखास्त नै दिन नपाउने गरी कार्यविधि बनाएपछि सिफारिस समिति विवादित बनेको छ । हो विवादको निरुपण गर्न कुलपतिले नै कार्यविधि संशोधन गर्न भनेका हुन् ।

संस्थापक उपकुलपति शर्मा नेतृत्वको सिफारिस समितिले विद्यावारिधीलाई न्यूनतम शैक्षिक योग्यताको कार्यविधि बनाएपछि स्कुल अफ मेडिकल साइन्सेसका प्राध्यापकहरु विरोधमा उत्रिएका थिए । उनीहरूको विरोधको स्वरलाई संवोधन गर्न सिनेट बैठकमा कुलपति ओलीले मेडिकलका प्राध्यापकहरुलाई पनि उपकुलपतिका लागि दरखास्त दिन मिल्ने गरी कार्यविधि संशोधन गर्न निर्देशन दिएका हुन् ।

सिफारिस समितिले १० दिनको समय दिएर पुस १८ गते आह्वान गरेको दरखास्तमा चिकित्सा क्षेत्रका प्राध्यापकबाहेकका १६ जनाले आवेदन दिएका छन् ।

कुलपतिको निर्देशन कसरी पालना गर्ने भन्नेमा सिफारिस समिति नै अन्योलमा छ । सिफारिस समिति कुलपतिले दिएको निर्देशन सम्वोधन गर्न मेडिकलका प्राध्यापकहरूलाई समेट्न समय थप गर्नेबारे छलफलमा छ । समितिका संयोजक शर्माले आफूहरू कुलपतिको निर्देशनबारे छलफलमा रहेको जानकारी दिए ।

कार्यविधिका कारण मात्र होइन सिफारिस समिति अर्को विषयका कारण पनि विवादित बनेको छ । उपकुलपतिका लागि दरखास्त दिनेहरूमा समिति संयोजक शर्माका नातेदार समेत छन् । उपकुलपतिमा दरखास्त दिएका प्रा.डा. नवीन पोखरेल शर्माका आफ्नै भाञ्जा हुन् भने प्रा.डा. मनीष पोखरेल नजिकैका नातेदार हुन् ।