आजदेखि उपत्यकाका बालबालिकालाई पोलियो खोप दिइने

आजदेखि उपत्यकाका बालबालिकालाई पोलियो खोप दिइने


काठमाण्डु-काठमाडौं उपत्यकाका पाँच वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा खोप दिइने भएको छ । आज साउन ९ देखि १२ सम्म उपत्यकाका तीन जिल्लामा पोलियोविरुद्धको खोप दिइने भएको हो ।

राजधानीकै टुकुचा र बागमती खोलाको दोभानमा नयाँ पोलियो भाइरस भेटिपछि सरकारले उपत्यकाका तीन जिल्लाका पाँच वर्षमुनिका बालबालिकालाई खोप दिने निर्णय गरेको हो ।

गत जेठ २३ गते दोभानबाट संकलन गरिएको नमुनामा डिप्राइभ्ड पोलियो भाइरस–३ फेला परेको थियो । विश्व स्वास्थ्य संगठनको हङकङस्थित ल्याबमा परीक्षण गर्दा उत्परिवर्तन भएको भाइरस देखिएको हो ।

नयाँ भाइरस देखिएपछि थप बालबालिकामा सम्भावित जोखिम हेरी सरकारले विश्व स्वास्थ्य संगठन तथा अन्य निकायको सुझावलगत्तै उपत्यकाका बालबालिकालाई खोप दिने निर्णय गरिएको हो । बढी जोखिममा हुने भएकाले पाँच वर्षमुनि उमेरका २ लाख ८० हजार बालबालिकालाई पोलियो खोप दिने तयारी गरेको हो ।

राजधानीमा फेला परेको पोलियो भाइरस मुखबाट खुवाइने पोलियो भाइरसको उत्परिवर्तनका रूपमा फेला परेका कारण मुखबाटै खोप दिने तयारी गरेको परिवार कल्याण महाशाखा खोप शाखाका प्रमुख डा. अभियान गौतमले बताए ।

पाँच वर्षमाथिका बालबालिका अति जोखिममा हुने भएकाले खोपबाट कोही छुट्न नहुनेमा उनले जोड दिए । यो उमेर समूहका कुनै पनि बालबालिकालाई खोेप दिन नछुटून् भनेर यसपालि स्वास्थ्यकर्मी घरमै पुगेर खोप दिनेछन् ।

घर नभएका बालबालिकाका लागि नजिकैका मन्टेश्वरी स्कुलमा पुगेरै खोेप दिने तयारी भएको खोप शाखाले जनाएको छ । यी दुवै ठाउँबाट खोेप लिन छुटेका बालबालिकाबारे खबर गरिदिन डा. गौतमले अपिल गरे ।

चार दिन जारी रहने पोलियो खोप अभियानका लागि सरकारले १२ हजारदेखि १६ हजार स्वास्थ्यकर्मी परिचालन गरेको छ । पोलियो खोप युनिसेफले प्रदान गरेको हो भने खोप अभियानका लागि विश्व स्वास्थ्य संगठनले २ करोड ५० लाख रूपैयाँ खर्च उपलब्ध गराउने जनाइएको छ ।