भारतको केदारनाथमा पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु

भारतको केदारनाथमा पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु


काठमाण्डु-भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिक पहिरोमा पुरिएर चार नेपाली मजदुरको मृत्यु भएको छ ।

गए राति परेको अविरल वर्षापछि पानी जम्मा गर्ने ताल खाट गडेरे नजिकै पहिरो खसेको थियो । मृत्यु हुनेमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चिकु बोहरा रहेको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

जिल्ला विपद् व्यवस्थापन अधिकृत नन्दनसिंह राजवारले लियादेवी सडक अवरुद्ध हुँदा एसडीआरएफ टोली करिब दुई किलोमिटर पैदल हिँडेर घटनास्थलमा पुगेको बताए ।

मुसलधारे वर्षाका बीच एसडीआरएफका जवानले खनेरै शव बाहिर निकालेका थिए । शवलाई रुद्रप्रयाग लगिने बताइएको छ ।