काठमाण्डु– नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक खड्गजीत बरालको निधन भएको छ । बरालको ९४ वर्षको उमेरमा आज निधन भएको हो । बराल ६ बर्षसम्म बर्माको लागी आवासीय राजदूत समेत भएका थिए । उनले राजदूत हुंदा बर्माका शरणार्थी सरह नेपालीलाई नागरिकता दिलाउने काम गरेका थिए ।
४४ बर्षको उमेरमा प्रहरी महानिरीक्षक बन्न सफल भएका बरालले नेपाल प्रहरीमा सबैभन्दा बढी ६ वर्ष प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालेका थिए । उनको कार्यकालमा प्रहरीभित्र धेरै सुधार (रासन,भवन र पोशाक) को राम्रो व्यवस्था हुनुको साथै उनलाई दूरदर्शी र शक्तिशाली महानिरीक्षकका रुपमा समेत चिनिन्थ्यो ।
उनले प्रहरी सुधार योजना स्वीकृत गराई त्यसलाई कार्यान्वयन गरेर प्रहरी मुख्यालयलगायत अन्य प्रहरी ईकाइहरुमा नियन्त्रण, सुपरीवेक्षण प्रवन्ध आदिको प्रशासनिक व्यवस्था,प्रहरीको काम,कर्तव्य आदि विविध पक्षमा सुधारात्मक काम गरेको भनेर बताइन्छ । त्यसका साथै प्रहरीमा हुने सरुवा बढुवामा हुकुम प्रमांगीले प्रहरी संगठनभित्र अस्थिरता र मनोबल गिराउने काम भइरहेको भन्दै तत्कालिन राजा विरेन्द्रलाई सहमत गराएर त्यो व्यवस्थाको अन्त्य पनि प्रहरीभित्र बरालले नै गराएका थिए ।
नवलपरासीमा जन्मेका बरालले आफ्नो प्रवेशिका परीक्षा भने भारतको पश्चिम वंगालको सेन्ट एन्डसजबाट गरेका थिए । पुर्व महानिरीक्षक बराल कुंवर इन्द्रजित सिंहको नेृतत्वको विद्रोह र राणाशासनविरुद्ध गठन भएको मुक्ती सेनाको लडाकुको रुपमा समेत भाग लिएका थिए ।
बरालले प्रहरीमा सिमा सुरक्षा प्रहरी गठन गरी नेपाल भारत र नेपाल चीन सिमामा सिमा प्रहरी चौकी स्थापना गरेका थिए । बराल २०२९ सालमा प्रहरी प्रमुखमा नियुक्त भएपछि ‘१६ वर्षीय सीमा सुरक्षा प्रहरी चौकी’ को योजना ल्याईएको थियो । त्यसै योजना अन्तर्गत उनले २०३५ सालको प्रारम्भमा प्रहरीबाट अवकाश पाउनु अघिसम्म नेपाल–चीन सीमामा ताप्लेजुङस्थित ओलाङचुङगोला, संखुवासभाको किमाथाङ्का, सोलुखुम्बुको थ्याङ्गबोचे, गोरखास्थित छेकम्पार, मनाङस्थित हुम्दे, मुस्ताङको लोमान्थाङ, हुम्लाका मुचू र यारी, डोल्पाको तिन्जे र मुगुमा सीमा प्रहरी चौकीहरू स्थापना गरेका थिए ।
त्यस्तै, नेपाल–भारत सीमामा दार्चुलाको दत्तु, डोटीको साँगडी, महोत्तरीको कट्टीकटैया, सर्लाहीको संग्रामपुर, कपिलवस्तुको कृष्णनगर, झापाको कांकडभिट्टा, इलामका पशुपतिनगर र मानेभञ्ज्याङ (दार्जिलिङ नजिक), भैरहवाको बेलहिया र दुवै नेपाल–भारत र नेपाल–चीन सीमा हेर्ने दार्चुलाको तिङकर सहित २० ठाउंमा सीमा प्रहरी चौकीहरू स्थापना भएका थिए।
२०१३ सालमा लोक सेवा आयोगको खुल्ला प्रतिस्पर्धाबाट स्नातकोत्तर तह उर्तीण गरेका निरीक्षकको रुपमा बराल प्रहरी सेवामा प्रवेश गरेका थिए । त्यसपछि उनले भैरहवा,नेपालगंज,सेती,महाकाली र कर्णाली अंचल,सदर प्रहरी तालीम केन्द्रमा समादेशक भएर काम गरेका थिए ।
बरालकै पहलमा २०३१ सालमा प्रहरीमा इन्जिनियरिङ शाखा स्थापना भएको थियो । त्यसपछि प्रहरीमा पगोडा शैलीका प्रहरी भवनहरूको निर्माण थालनी गरिएको थियो। अपर्याप्त बजेट रहेको तत्कालीन अवस्थामा चन्दाको भरमा अधिकांश थाना, चौकी र ब्यारेक लगायतका प्रहरी भवनहरू निर्माण गरिएका थिए। पछि उनकै पहलमा पुर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म प्रहरी थाना र चौकी निर्माण भएको थियो ।
प्रहरीले आफ्नै तलबबाट वा ऋण लिएर पोशाक किन्न, वा अरूबाट उधारोमा पोशाक लगाउन नपरोस भनेर आइजीपी बरालले २०३३ सालमा रासन र पोशाकको व्यवस्था गरेका थिए । उनकै पालामा ५० शैयाको प्रहरी अस्पतालको स्विकृती भएको थियो । प्रहरी प्रमुखको हैसियतमा उनी भारत भ्रमणमा जांदा अस्पतालको टुंगो लागेको थियो ।
खेलकुदमा रुची राख्ने र फुटबलका खेलाडी समेत रहेका बराल हकी र जुडो संघको अध्यक्ष र नेपाल गल्फ क्लब र ब्याडमिन्टन संघको उपाध्यक्ष समेत बनेका थिए । विभिन्न देशमा राजदूत बनेका बराल राष्ट्रिय पंचायतका सदस्य समेत भएका थिए ।
प्रतिक्रिया