काठमाण्डु-बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका लागि लण्डन प्रस्थान गरेकी छिन् ।
ढाका ट्रिब्युनका अनुसार उनी हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारका अमिरले पठाएको विशेष रोयल एयर एम्बुलेन्समा लण्डन प्रस्थान गरेकी हुन् ।
आफ्नो गुलशन निवासबाट उपचारका लागि लण्डनतर्फ निस्कएका ७९ वर्षीया जिया कलेजो सिरोसिस, मुटुरोग, मृगौलालगायत विभिन्न स्वास्थ्य समस्याबाट पीडित हुन् । उनलाई उपचारका लागि लण्डन क्लिनिकमा भर्ना गरिने छ ।
जियाका साथमा उनका चिकित्सक, परिवारका सदस्य र सहयोगीहरू थिए भने कतार सरकारका डाक्टरहरूको टोली पनि विमानमा सवार थिए । जियालाई लण्डन लैजान कतारको रोयल एयर एम्बुलेन्स सोमबार साँझ ढाका पुगेको थियो ।
जियालाई लण्डन लैजाने तयारी भएको सूचनासँगै उनले प्रस्थान गर्नुअघि ठूलो संख्यामा बीएनपी नेता र कार्यकर्ताहरू गुलशनस्थित जियाको निवास फिरोजा नजिकै भेला भएका थिए ।
लण्डन भ्रमणलाई बीएनपीका वरिष्ठ नेताहरूले राजनीतिक यात्राभन्दा पनि चिकित्सकीय भ्रमणको रूपमा व्याख्या गरेका छन् ।
प्रतिक्रिया