काठमाण्डु– खानेपानी मन्त्री प्रदीप यादवले कुपण्डोल–पुल्चोकमा खानेपानीको पाइपलाइन फुटेर क्षती भएका विषयमा छानविन गर्न समिति गठन गरेका छन् ।
काठमाडौँ उपत्यकाको बालाजु–पुलचोक लगायतका क्षेत्रमा पाइपलाइन फुट्ने र चुहिने समस्याका कारण भएको संरचनात्मक क्षतिबारे स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले आज छानबिन समिति गठन गरेका हुन् ।
मन्त्री यादवले मन्त्री स्तरीय निर्णय गर्दै ३० दिनभित्र पाइपलाइन समस्याको कारण, संरचनामा भएको क्षति र भविष्यमा यस्तो घटना दोहोरिन नदिनका लागि समाधानका उपायहरूसहितको प्रतिवेदन पेश गर्न सह–सचिव रमाकान्त दुवाडीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेका हुन् ।
उक्त छानविन समितिको सदस्य सचिवमा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जिविक्रम राणा, सदस्यहरुमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका उप–प्रबन्धक उमेशबाबु मरहठ्ठा, आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का कार्यकारी निर्देशक टिकाबहादुर चौधरी, र इन्जिनियरिङ अध्ययन संस्थान पुलचोकका सह–प्राध्यापक डा. सुरज लामिछाने रहेका छन् ।
मन्त्री यादवले उपत्यकामा मेलम्ची लगायतका स्रोतहरूबाट उपलब्ध पानीको वितरण प्रणालीलाई व्यवस्थित, दिगो, र सुरक्षित बनाउन र नागरिकलाई निर्बाध रुपमा सेवा उपलब्ध गराउन समिति गठन गरिएको बताए ।
उनले बारम्बार पाइपलाइन फुट्ने समस्या तत्काल समाधान गर्न महत्वपूर्ण रहेको बताउनु हुँदै पानी वितरण प्रणालीलाई थप सुदृढ बनाउन आवश्यक सुधारका उपायहरू अवलम्बन गर्न निर्देशन दिएका छन् ।
उक्त समितिलाई ३० दिनभित्र पाइपलाइन फुट्ने र चुहिने समस्याका कारणहरू, हालसम्मको क्षति, र आगामी दिनमा यस्ता समस्याबाट जोगिनका लागि समाधानका उपायसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
मन्त्री यादवले प्रतिवेदनका आधारमा मन्त्रालयले थप ठोस कदम चाल्ने र आगामी दिनमा पाइपलाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने योजना रहेको बताए ।
उपत्यकामा भएका पाइपलाइन फुट्ने समस्याले सडक, घर तथा अन्य संरचनाहरूमा क्षति पुर्याएको र आगामी दिनमा थप क्षति हुन सक्ने सम्भावना रहेको भन्दै मन्त्री यादवले पाइपलाइन विस्तारको क्रममा गरिएका त्रुटिहरूलाई सुधार गर्दै भौतिक संरचनाको दीर्घकालीन सुरक्षा सुनिश्चित गर्नसमेत निर्देशन दिएका छन् ।
प्रतिक्रिया