खारेजी परेका कार्यालयका कर्मचारी अन्योलमा

खारेजी परेका कार्यालयका कर्मचारी अन्योलमा


चौतारा – सरकारले साउन १ गतेदेखि लागू हुने गरी जिल्लास्थित सेवा प्रदायक १८ कार्यालय स्थानीय तहमा हस्तान्तरण गर्न खारेजीको घोषणा गरेपछि कर्मचारी कहाँ र कुन अवस्थामा काम गर्ने भन्ने अन्योलमा परेका छन् ।

सञ्चारमाध्यमबाट मात्र जानकारी पाएको र सम्बन्धित निकायबाट हालसम्म आधिकारिक पत्र प्राप्त भएको छैन । सम्बन्धित निकायबाट कुनै आधिकारिक पत्र नआएकाले हाजिर मात्र गरेर बस्ने गरेको जिल्ला कृषि विकास कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख दुर्गादत्त पन्थीले बताए । “कृषकले प्राविधिक सल्लाह लिन आएमा सल्लाह दिने अन्य काम भने ठप्प छ”, उनले भने ।

कार्यालय खारेजीपछि अस्थायी र ज्यालादारी कर्मचारीलाई हाजिर नगराउने निर्देशन आएकाले त्यसको पालना गरिएको र अन्य काम केही हुन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका इञ्जिनीयर शम्भु खनालले बताए । उता खारेजीमा परेको घोषणा गरिएपछि हाललाई कार्यालय यथावत् रुपमा रहने गरी पत्र प्राप्त भएको घरेलु तथा साना उद्योग विकास समितिका लेखा अधिकृत भगवान झा बताउंछन्।

हालसम्म आधिकारिक पत्र नआए पनि प्रदेश मातहत रहने गरी जिल्ला वन कार्यालय यथावत् रहने र यसअघि इलाका वन कार्यालयले गर्दै आएको काम तीन नगरपालिका र नौ गाउँपालिकालाई समेट्ने गरी छ सबडिभिजन कार्यालय रहने आफूले जानकारी पाएको जिल्ला वन अधिकृत राजु क्षत्रीले बताए ।

त्यसैगरी भूसंरक्षण कार्यालयमा पनि कामकाज ठप्प छ । देशमा १४ डिभिजन कार्यालय रहेको हुँदा त्यसमध्ये एउटा डिभिजन कार्यालय यहाँ रहने सम्भावना रहे पनि सोबारे अहिलेसम्म कुनै आधिकारिक पत्र प्राप्त भइसकेको सहायक भूसंरक्षण अधिकृत प्रदीप श्रेष्ठले बताए ।

कार्यालय खारेजीमा परेका शिक्षा, पशुसेवा, महिला विकासलगायत कार्यालयका कर्मचारी पनि हाजिर मात्र गरेर बस्ने गरेका छन् । जिल्ला अस्पताल भने आगामी असोज मसान्तसम्म यथावत् रहने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जिल्लामा खारेजीमा परेका कार्यालयमध्ये शान्ति समिति मात्र भाडाको घरमा बसेको र अन्यको आफ्नै सरकारी भवन छन् ।