काठमाडौं– फरक पृष्ठभूमी, फरक कार्यनीति तथा रणनीतिबाट आएका दुई कम्युनिष्ट पार्टी थिए–नेकपा एमाले र माओवादी केन्द्र । माउ पार्टी एकै भएपनि विभिन्न कालखण्डमा टुटफुटपछि नितान्त भिन्न स्कुलिङबाट दुवै राजनीतिक दल नेपाली राजनीतिमा हुर्किएका र उदाएका हुन् ।
खासगरी ०६३ सालमा माओवादी १० वर्षे सशस्त्र द्धन्द्धको शान्तिपूर्ण अवतरण भएपछि दुवै पार्टीले शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा स्वीकार गरेका थिए । तर, माओवादी केन्द्रले केही समय सत्ता कब्जालाई आफ्नो केन्द्रीय नीति मान्दै आएको थियो । त्यसको सबैभन्दा कटु आलोचक थिए–तत्कालीन एमालेका नेता केपी शर्मा ओली ।
०७१ सालमा भएको एमालेको नवौ महाधिवेशनबाट तिनै केपी शर्मा ओली शक्तिशाली अध्यक्षमा उदाए । त्यसपछि एमाले र माओवादी सम्बन्ध झनै कटु हुने आशंका गरिएको थियो । केही समय सत्तासाझेदारीलगायतका विषयमा एमाले–माओवादी सम्बन्ध तिक्त रह्यो । उसो त कार्यनीतिक हिसाबले माओवादी केन्द्रले २०६९ माघमा हेटौडामा सम्पन्न महाधिवेसनबाट औपचारिक रुपमा प्रतिस्पर्धात्मक राजनीतिक बाटोलाई अंगीकार गरिसकेको थियो । तर, पनि एमाले–माओवादी सम्बन्धमा ‘मधुरता’ आउन सकेको थिएन । त्यसो प्रमुख कारण दुवै पार्टीको एउटै जनमत हुनु पनि हो ।
त्यसो भए माओवादी शान्ति प्रक्रियामा आएको झण्डै १३ वर्षको अवधिमा एकअर्काका कटु आलोचक दुई कम्युनिष्ट पार्टी कसरी एउटै झण्डामुनि गोलबन्द हुन सम्भव भयो त ? यो एकता सफल पार्नका लागि दुवै कम्युनिष्ट पार्टी भित्रका केही युवा तथा केही पाका नेताहरुको भूमिका छ भने अर्कोतर्फ दुई कम्युनिष्ट पार्टी एकता होस भन्ने जनमत पनि कारकका रुपमा रहेको छ । यसको तेस्रो कारण भनेको माओवादी र एमालेका अगाडि उत्पन्न राष्ट्रिय परिस्थिती पनि हो ।
आखिर असम्भवजस्तै ठानिएको एमाले–माओवादी एकताका ‘किङ मेकर’ को हुन् त ? त्यसमा सबैभन्दा अगाडि आउने नाम वामदेव गौतमको हो । तत्कालीन एमाले उपाध्यक्ष वामदेव गौतम ०६३ सालतिर नै माओवादीसँग पार्टी एकता गर्नुपर्ने पक्षमा थिए । जसका कारण उनीमाथि ‘एमालेभित्रको माओवादी’को आरोप लाग्ने गरेको थियो ।
०७२ सालमा शक्तिशाली भूकम्प गएपछि प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीबीच संविधान जारी गर्ने सहमति भयो । ०७२ असोजमा नेपालको नयाँ संविधान जारी भयो । त्यसपछि, पूर्व सहमतिअनुसार एमालेलाई सत्ताको बागडोर दिनुपर्ने पक्षमा माओवादी उभियो । तर, कांग्रेसले उक्त सहमति लत्यायो । यही घटनाले एमाले र माओवादीको सम्बन्ध सुधार गर्न भूमिका खेल्यो । कतिसम्म भने माओवादीकै समर्थनका ओली प्रधानमन्त्री भए ।
तर, त्यतिबेला भएको भनिएको सत्ता हस्तान्तरणको सहमति पूरा नभएको भन्दैं केही समयपछि माओवादी सरकारबाट बाहिरियो । अध्यक्ष पुष्पकमल दाहाल कांग्रेस समर्थनमा प्रधानमन्त्री बने । ०७४ सालको बैशाखमा उनकै नेतृत्वमा स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भयो । त्यसपछि उनले पूर्व सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई जेठको अन्तिममा सत्ता हस्तान्तरण गरे । देउवाले असारमा दोस्रो र २ असोजमा तेस्रो चरणको निर्वाचन सम्पन्न भयो ।
राष्ट्रवादको रापतापमा पनि एमाले एक्लैले स्थानीय चुनावमा आँकडाअनुसार केन्द्र र प्रदेश सरकारको चुनावमा बहुमत हासिल गर्ने सम्भवना देखिएन् । बरु, माओवादी कांग्रेससँग मिल्दा त्यसले थप घाटा आफूलाई लाग्ने सम्भावना एमालेले देख्यो । स्थानीय तह निर्वाचनका परिणामहरुमा पनि त्यही देखियो । किनभने, जित सुनिश्चित भएका केही स्थानमा माओवादी र कांग्रेस मिलेर एमालेलाई पराजित गरेका थिए ।
त्यसपछि, एमाले र माओवादी एक ठाउँमा नआएर कम्युनिष्ट सरकार नबन्ने पक्का देखियो । एमाले र माओवादी एकताको प्रसंगले भित्रभित्रै नयाँ रुप ग्रहण ग¥यो । त्यसमा क्रमसः एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने विष्णु पौडेल जोडिए । माओावादीबाट बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, शक्ति बस्नेत, वर्षमान पुन र जनार्दन शर्मालगायतका नेताहरुले पहलकदमी थिए ।
त्यसपछि चर्को मनमुटावकाबीच गत असोजमा दशैको छेको पारेर चुनावी तालमेलको कुरा अगाडि बढाइयो । चरण–चरणमा भएका छलफलपछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकता नै गरेर जाने निचोडमा पुगे । गत मंसिरमा सम्पन्न केन्द्र र प्रदेश चुनाव सँगै लडेका दुई ठूला कम्युनिष्ट पार्टीले चुनावी मैदानमा राम्रो जनमत पाए । उनीहरुले दुवैले चुनावी अभियानमा पार्टी एकता गर्ने एजेण्डा पनि जनताबीच लगेका थिए, जनताले त्यसलाई अनुमोदन गरिदिए ।
पार्टी एकताको पक्षमा आएको जनमतपछि पार्टी एकता हुनका लागि भने झण्डै ६ महिना लाग्यो । कतिपय अवस्थामा त यतिसम्म वातावरण बिग्रिएको देखिन्थ्यो कि लाग्थ्यो माओवादी र एमाले पार्टी एकता गर्दैनन् । तर, अन्तिममा सप्रराइजकै शैलीमा पार्टी एकता भयो ।
जसको मुख्य कारण एमाले र माओवादीका तत्कालीन अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालकै मुख्य जागरुकता हो । तर, छिनभरमै जुट्ने र छिनभरमै टाढा भाग्ने शैली भएका यी दुई नेतालाई नजिक ल्याउने र इतिहासकै सबैभन्दा ठूलो पार्टी निर्माण गर्ने अभियानमा भने दोस्रो तहका नेताहरुको भूमिका छ ।
एमालेको वामदेव गौतम र माओवादीका नाराणकाजीले श्रेष्ठले एकता प्रक्रियामा जग बसाल्ने भूमिका निर्वाह गरेका थिए । जसमा एकता प्रक्रियामा विश्वास निर्माणका लागि सबैभन्दा बढी खटिनेमा एमालेका पूर्व उपमहासचिव तथा हालको कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल पर्छन् । पौडेलले पार्टी एकताका लागि ओली र दाहालबीच विश्वासको पुल निर्माण गरेका थिए । पछिल्लो क्रममा त उनकै अग्रसरतामा एकता प्रक्रियामा आइसब्रेक भएको मानिन्छ ।
एकता प्रक्रियामा जाजरकोटका युवा नेता शक्ति बस्नेतले पनि प्रभावकारी भूमिका खेलेका छन् । हाल वनमन्त्री रहेका बस्नेत प्रचण्डका विश्वासपात्रमा पर्छन् । पहिलो पटक ओली प्रधानमन्त्री हुँदा उनी गृहमन्त्री रहेका कारण ओलीसँग पनि उनको उस्तै सम्बन्ध छ । त्यही सम्बन्धका कारण दुई नेताहरुलाई नजिक ल्याउने भूमिका बस्नेतले निर्वाह गरे ।
यस्तै, उर्जामन्त्री वर्षमान पुनको भूमिका पनि एकता प्रक्रियामा ठूलो रहेको छ । प्रचण्डका भित्रिया मानिने पुनले पहिलो पटक एमाले र माओवादीबीच पार्टी एकता हुने कुरा रोल्पाको चुनावी सभामा खुलासा गरेका थिए । माओवादी युद्धका बेला मध्य र पूर्वी कमाण्डजस्तो संवेदनशील क्षेत्रको आफ्नो क्षमता देखाइसकेका कारण पनि पुन दाहाल भित्रियामा पर्छन् ।
पार्टी एकताका लागि उनको पनि महत्वपूर्ण भूमिका रहेको छ । पार्टी एकता हुनु दुई दिनअघि पनि उर्जामन्त्रीले प्रधानमन्त्रीसँग भेटेर एकता प्रक्रिया चाडो टुंग्याउनुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीसंगको उनले छलफल गरेपछि पार्टी एकताको प्रक्रिया तत्काल अघि बढेको धेरैको बुझाई छ ।
पूर्व उर्जामन्त्री तथा तत्कालीन माओवादी केन्द्रका नेता जनार्दन शर्माको भूमिका पनि एकता प्रक्रियामा उल्लेख्य रहेको थियो । प्रचण्डका विश्वासपात्र मानिने शर्माले पनि ओली र प्रचण्डलाई मिलाएर पार्टी एकता गर्नेमा महत्वपूर्ण भूमिका खेलेका थिए । स्रोतकाअनुसार शर्मा पछिल्लो समय ओलीसँग अलि बढी झुकाव राख्न थालेको आरोप पनि माओवादीभित्र लाग्न थालेको छ ।
जे भएपनि मुलुकका दुई ठूला कम्युनिष्ट पार्टीको एकताका यिनै ‘किङ मेकर’हरुको साझा प्रयासमा सम्भव भएको हो । साझा प्रयासकै बलमा दक्षिण एसियाकै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी नेपालमा निर्माण गर्न नेपाली कम्युनिष्टहरु सक्षम भएका छन् । जसका केही महत्वपूर्ण र दूरगामी असर नेपाली राजनीतिमा लामो समयसम्म अनुभूत गरिनेछन् ।
प्रतिक्रिया