तेस्रो वरियताकी राणा एआईजीपी बढुवा सिफारिस

तेस्रो वरियताकी राणा एआईजीपी बढुवा सिफारिस


काठमाण्डु – तेस्रो वरियताकी प्रहरी नायब महानिरीक्षक (डिआईजीपी) किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा सिफारिस भएकी छन् । बढुवा समितिले उनीभन्दा दुई सिनियर डिआईजीपीलाई पञ्छाउँदै राणालाई आइतबार राति बढुवा सिफारिस गरिएको हो ।

गृहसचिव गोकर्णमणि दुवाडी अध्यक्ष रहेको बढुवा समितिले आइतबार सिनियर दुई डीआईजीपी बुद्धिराज गुरुङ र दुर्गा सिंह चन्दलाई पञ्छाएर १५ कात्तिकमा ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेकी राणालाई बढुवा सिफारिस गरेको हो । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहने व्यवस्था कानुनमा छ ।

उनीभन्दा सिनियर गुरुङ अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा र चन्द गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा कार्यरत छन् ।

प्रहरी नियमावली अनुसार बढुवा सिफारिस भएको ७ दिनसम्म बढुवा गर्न मिल्दैन । यसअनुसार ११ कात्तिकसम्म राणा बढुवा हुने छिन । मन्त्रिपरिषद् बैठकले ११ गते नै राणालाई बढुवाको निर्णय गरे उनी जम्मा ४ दिनमात्रै एआईजी हुने पाउनेछिन् ।