स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ : मन्त्री थापा

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्दै जानुपर्छ : मन्त्री थापा


भक्तपुर – बागमती प्रदेश सभाका स्वास्थ्यमन्त्री किरण थापाले बागमती प्रदेशको भोलिदेखि सुरु हुने प्रदेश सभाले स्वास्थ्य विधेयक पारित गरेर स्वास्थ्य क्षेत्रका समस्याहरू समाधान गर्दै लैजाने बताएका छन् ।
शंखधर बचत तथा ऋण सहकारी संस्थाको शनिबार सम्पन्न १७औं वार्षिक साधारण सभामा उनले स्वास्थ्य विधेयक पारित भएपछि वर्षौंदेखि नवीकरण नभई रहेका अस्पतालको नवीकरण हुने बताए ।
मन्त्री थापाले भने, ‘स्वास्थ्य विधयेक पारित भएपछि निजी अस्पतालको समस्या समाधान हुनेछन् । निजी अस्पतालका रोकिएको नवीकरण हुनेछन् । १०० शय्याका अस्पताललाई नर्सिङ र ३०० शय्याका अस्पताललाई मेडिकल कलेज सञ्चालन गर्न बाटो खुल्नेछ । यसले विद्यार्थी अध्ययनका लागि विदेशिनबाट रोकिनेछ ।’
यस वर्ष नर्सिङ अध्ययन गर्न ८०० कोटा खुल्ला गरेकामा ६ हजार ४०० को आवेदन परेको र एमबीबीएसमा १ हजार ७०० कोटा खुल्ला गर्दा ७ हजारले फाराम भरेको बताउँदै उनले बाँकी विद्यार्थी पढ्नकै लागि विदेसिने गरेको पाइएकाले पर्याप्त मात्रामा नर्सिङदेखि एमबीबीएससम्मका अध्ययन सञ्चालन गर्न सके विद्यार्थी विदेशिने क्रम राकिने बताए ।
मन्त्री थापाले सञ्चालकले नै सहकारीको रकम दुरुपयोग गरी घरजग्गामा लगानी गर्ने, कतिपयल धितो मूल्यांकन नै नगर सस्तोमा ऋण दिने गरेका कारण सहकारी डुबेको भन्दै स्थानीय स्तरमा नियमभित्र रहेर सञ्चालनमा रहेका सहकारी अझै पनि राम्रो र विश्वासिलो रहेको बताए । उनले मध्यपुरथिमिको शंखधर प्रतिष्ठानलाई मिनी म्युजियम बनाउन बागमती प्रदेश सरकारबाट ५० लाख बजेट विनियोजन गरेको भन्दै निर्माणका क्रममा रकम अभाव भए थप गर्दै लैजाने बताए ।