स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरको मेयरमा एमाले र माओवादीले टुंग्यायो उम्मेदवार, कांग्रेसबाट को ?

स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरको मेयरमा एमाले र माओवादीले टुंग्यायो उम्मेदवार, कांग्रेसबाट को ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सत्तारुढ एमाले र विपक्षी माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा उम्मेदवार टुंगो लगाएको छ । अर्को सत्तारुढ दल नेपाली कांग्रेसले उम्मेदवार छनोट गरेको छैन ।

एमालेले कीर्तिपुरको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार घोषणा गरेको छ । एमालेको कीर्तिपुर नगर समितिले डा. मानन्धरको नाम सिफारिस गरेको थियो । मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।

कांग्रेसबाट कीर्तिपुर नगरपालिकामा निर्वाचित मेयर राजकुमार नकर्मीको निधन भएपछि उक्त रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । यस्तै, माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा. शिवशरण महर्जनलाई उम्मेदवार बनाएको छ ।

कीर्तिपुर नगरसमितिको बैठकले उपनिर्वाचनमा महर्जनलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको हो । त्यस्तै माओवादी केन्द्रबाट कीर्तिपुर १ को वडाध्यक्षमा अष्टमान महर्जन र वडा नं ४ को वडाध्यक्षमा नारायण विष्टलाई उम्मेदवार बनेका छन् । यसैगरी, राप्रपाले ध्रुव महर्जनलाई मेयरको उम्मेदवार बनाएको छ ।

स्थानीय तहका रिक्त ४४ पदमा मंसिर १६ गते उपनिर्वाचन हुँदैछ ।

कांग्रेसले कीर्तिपुर नगरपालिकाको मेयर पदमा अहिलेसम्म उम्मेदवार छनोट गरेको छैन । कांग्रेसमा उपनिर्वाचनका लागि ११ जना आकांक्षीको नाम क्षेत्रीय समितिमा सिफारिस भएको छ ।

नगर समिति सभापति कृष्णमान डंगोललाई पहिलो नम्बरमा राखेर नाम पठाइएको छ । त्यसपछि क्रमशः बद्रीलाल महर्जन, हिमाल कार्की, जमुना नकर्मी, संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ ।

निधन भएका मेयर नकर्मीकी पत्नी जमुनाको चौथो नम्बरमा सिफारिस गरिएको छ । पेशाले अधिवक्ता जमुना राजनीतिमा कम क्रियाशील छिन् । कांग्रेसको विधान अनुसार नगर प्रमुखको उम्मेदवार छनोट गर्ने अधिकार प्रदेश समितिलाई छ ।