कोलकातामा बाइकमाथि बस हुइक्याएपछि ३ बसमा आगजनी

कोलकातामा बाइकमाथि बस हुइक्याएपछि ३ बसमा आगजनी


कोलकात्ता- शुक्रबार कोलकाताकोे खिडरपुरको मोमिन्पुर क्षेत्रमा ३२ वर्षीय मानिसमाथि बस हुइक्याएपछि तीन बसमा आगजनी र तोडफोड भएको छ ।

आक्रोशित समूहले ढुंगाले हान्दा तीन प्रहरीलाई सामान्य चोटपटक लागेको छ । दंगा र आगजनी गरेको आरोपमा १ महिला सहित पाँच जनालाई पक्राउ गरिएको छ । स्थानीय वासिन्दाले तीन बसहरु एक आपसमा प्रतिस्पर्धा गरिरहेको र त्यो मध्ये एकले मोटरसाइकल चालक अनिल बर्मालाई ठक्कर दिएको बताएको साउथ पोर्ट प्रहरी सुत्रले जनाएको छ ।

जंकसन रोडका वासिन्दा बर्मा बसको चक्कामुनी पर्नु अगाडि सडकमा झरेको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै मृत्यू भएको थियो । उनको शरीर पोस्ट मार्टमका लागि पठाइएको छ । “दूर्घटनापछि ४०० देखि ५०० मानिसले दंगा गरेका थिए । उनीहरुले ३ वटा निजी बसमा आगो लगाउनुका साथै तोडफोड समेत गरेका थिए ।

एक महिला सहित पाँचलाई आगजनी र तोडफोड गरेको आरोपमा पक्राउ गरिएको छ,” वरिष्ठ प्रहरी अधिकारीले बताए । बसलाई पक्राउ गरिएपनि चालक भने भाग्न सफल भएका छन् । अवस्था नियन्त्रणका लागि ठूलो प्रहरी बल आएको छ । तर प्रदर्शनकारीले उनीहरुमाथि ढुंगा बर्साएका थिए । उक्त घटनामा केही अधिकारी घाइते भएका छन् । भीडलाई तिररबितर पार्नका लागि प्रहरीले लाठिचार्ज गरेको थियो ।