काठमाडौं – सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि जर्मनीका राजदूत रोल्याण्ड स्क्याफले शिष्टाचार भेट गर्नुभएको छ । शुक्रबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेर राजदूत रोल्याण्डले उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नु भएको हो ।
भेटमा उपराष्ट्रपतिले नेपाल जर्मनी सम्बन्ध अत्यन्त प्रगाढ र सौहार्दपूर्ण रहिआएको बताउनुभयो । ‘यो वर्ष नेपाल जर्मनी–कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुग्छ । पूर्वीय दर्शनअनुसार ६० वर्ष पूर्णता र परिपक्वताको वर्ष मानिन्छ’, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, ‘यसकारण म नेपाल र जर्मनीबीचको सम्बन्ध अझै सुदृढ हुँदै जाने कुरामा विश्वस्त छु ।’
उपराष्ट्रपतिले नेपालको नयाँ संविधान अनुसार भएको तीनै तहको निर्वाचपछि नेपालमा ईतिहासमै राजनीतिक स्थिरता कायम भएको बताउनु भयो । उहाँले नेपाल अब आर्थिक समृद्धिको मार्गमा अगाडि बढेको बताउनुभयो ।
‘हाम्रो प्राथमिकता अब विकास, समुद्धि र जनतालाई सुखी र खुशी बनाउने हो’, उपराष्ट्रपतिले भन्नुभयो, ‘नेपाल सरकारले यसलाई समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको छ । नेपालको प्राथमिकता विकास र समृद्धि हो ।’ उहाँले नेपालको समृद्धिको यात्रामा जर्मनीको साथ सहयोग रहनुपर्ने बताउनुभयो ।
उपराष्ट्रपतिले नेपाल वैदेशिक लगानीका लागि पूर्ण लगानीमैत्री रहेको प्रष्ट पार्नुहुँदै राजदूत रोल्याण्डमार्फत जर्मनीका नीजि क्षेत्रलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । ‘हाम्रो ऐन कानूनहरु पूर्ण रुपमा वैदेशिक लगानी मैत्री छन्, म जर्मनीका नीजि क्षेत्रलाई नेपालमा आएर लगानी गर्न आग्रह गर्दछु,’ उहाँले भन्नुभयो, ‘नेपालको लगानीबाट लगानीकर्ताहरुले मुनाफा नै पाउँछन् ।’ उहाँले नेपालको समृद्धिका आधार जलविद्युत, कृषि, पर्यटन, जडिबुटी र पूर्वाधार निर्माण लगायतका भएको उल्लेख गर्नुहुँदै ती क्षेत्रमा लगानीका लागि आग्रह गर्नुभयो ।
उपराष्ट्रपतिसँगको भेटमा जर्मनीको राजदूत रोल्याण्डले जर्मनी र नेपालको सम्बन्ध कसैसँग तुलना हुन नसक्ने बताउनुभयो । उहाँले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउन सहयोग र सहकार्यको क्षेत्रलाई फराकिलो बनाउँदै जानुपर्ने बताउनुभयो ।
भेटमा जर्मनीका राजदूतले जर्मनीको नीजि क्षेत्र नेपालमा लगानी गर्न तत्पर रहेको बताउनुभयो । ‘नेपालले नयाँ नयाँ फड्को मार्दै गएको छ । राजनीतिक स्थिरतापछि यहाँ लगानी मैत्री वातावरण बनेको छु भन्ने मैले मेरो देशको नीजि क्षेत्रलाई भनेको छु,’ उहाँले भन्नुभयो, ‘मेरो देशका नीजि क्षेत्र नेपालमा लगानीका लागि उत्साहित छ, ईच्छुक छ ।’ उहाँले जर्मनीका लगानीकर्ताहरु नेपाल सरकारसँगै संझौता गरेर लगानी गर्न चाहिररहेको बताउनुभयो । उहाँले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का लागि जर्मनीलाई नेपालले मत दिएको उल्लेख गर्नुहुँदै धन्यवाद दिनुभयो ।
यसैगरी उपराष्ट्रपतिसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ शिकले शिष्टाचार भेट गर्नु भएको छ । राजदूत पार्कले बिहीबार अपरान्ह उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नुभएको हो ।
भेटमा उपराष्ट्रपतिले नेपाल सदा कोरियाली प्रायद्वीपमा स्थायी शान्ति हुनुपर्नेमा अडिग रहेको बताउनुभयो । उहाँले कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम हुनेमा नेपाल पूर्ण रुपमा विश्वस्त रहेको बताउनुभयो । भेटमा दक्षिण कोरियाका राजदूतले उत्तर भर्खरै आफ्नो देशका राष्ट्रपतिले उत्तर कोरियाको भ्रमण गरेको र कोरियाली प्रायद्वीपमा स्थायी शान्तिका लागि काम भईरहेको बताउनुभयो ।
प्रतिक्रिया