कोशी प्रदेश सभाका ७ संसदीय समितिको सभापतिमा भागबण्डा

कोशी प्रदेश सभाका ७ संसदीय समितिको सभापतिमा भागबण्डा


काठमाण्डु – कोशी प्रदेश सभाका ७ वटा संसदीय समितिको नेतृत्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको छ ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की र पूर्व मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता उद्धव थापासहित नेताहरूबीचको छलफलले समितिका सभापतिको भागबण्डा गरेको छ ।

सभापतिको निर्वाचनका लागि बिहीवार मनोनयन गर्ने र शुक्रवार निर्वाचन गर्ने कार्यतालिका प्रदेश सभाले सार्वजनिक गरेको बेला ७ वटा समितिमध्ये कांग्रेस र एमालेले ३–३ वटा लिने तथा संसदीय परम्पराअनुसार सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलाई दिने सहमति गरिएको छ ।

एमालेले उद्योग, पर्यटन तथा वातावरण समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार समिति र न्याय, प्रशासन तथा विधायन समितिको नेतृत्व लिने सहमति भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । कांग्रेसले सुशासन तथा योजना समिति, अर्थ समिति र सामाजिक विकास समितिको नेतृत्व लिनेछ ।

सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रलाई दिने सहमति कांग्रेस–एमालेले गरेका छन् ।