काठमाण्डु-निरन्तर वर्षा भएसँगै सप्तकोसी नदीको जलसतह बढेको छ । जलसतहमा भएको वृद्धिलाई दृष्टिगत गरी अहिले कोसी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएका छन् । यसअघि गत असार २३ गते ३ लाख ६८ हजार क्युसेक पानीको बहाव हुदाँ पनि ब्यारेजका सबै ५६ ढोका खोलिएको थियो ।
आज बिहान ७ बजे तीन लाख ८१ हजार आठ सय ४० क्युसेक प्रतिसेकेण्ड जल सतह मापन गरिएको थियो भने ८ बजे चार लाख १८ हजार दुई सय ८५ क्युसेक प्रतिसेकेण्ड जल सतह मापन गरिएको सुनसरी जिल्ला प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले जानकारी दिए ।
नदीमा निरन्तर जलस्तर अनुगमन भइरहेको छ । पानीको सतह निरन्तर बढेपछि कोसी ब्यारेजमा जोखिमको सङ्केत देखिन थालेको सुनसरी जिल्ला प्रमुख अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।
सप्तकोसी जलमापन केन्द्रले जलसतह जोखिम विन्दुभन्दा माथि पुगेको बताएको छ । नदीको भेल उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ । तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन प्रमुख अधिकारी तिवारीले आग्रह गरेका छन् ।
पानीको बहाव बढेपनि ब्यारेजका संरचना अहिले सुरक्षित रहेको छ ।
यसैबीच बिहार सरकारको जलसंसाधन विभागले कोशीमा अप्रत्यासित रूपमा पानीको बहाव बढ्ने भन्दै विहारका ८ जिल्लामा उच्च सर्तकता अपनाउन पत्राचार गरेको छ ।
बिहारको सुपौल, सहरसा, मधेपुरा, मधुवनी, दरभंगा, भागलपुर, खगडिया र कटिहार जिल्ला मा उच्च सर्तकता अपनाउन पत्राचार गरिएको हो ।
प्रतिक्रिया