वार्तामा आउन पहिचानवादीलाई कोशी सरकारको आग्रह

वार्तामा आउन पहिचानवादीलाई कोशी सरकारको आग्रह


विराटनगर – कोशी प्रदेश सरकारले पहिचानवादीहरूलाई वार्तामा आउन आह्वान गरेको छ ।

प्रदेश सरकारले गठन गरेको वार्ता समितिको मंगलबार बसेको बैठकले प्रदेशमा असन्तुष्ट रहेका पहिचान पक्षधरलाई वार्तामा आउन आग्रह गरेको छ ।

केही दिनदेखि ताप्लेजुङ लगायतका क्षेत्रमा भइरहेको आन्दोलनलाई लिएर प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको बताउँदै वार्ताको लागि आह्वान गरिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना नेतृत्वको समितिको बैठकले औपचारिक रूपमा आग्रह गरेको छ ।

ताप्लेजुङ पाथिभरा क्षेत्रमा केवलकार निर्माणको काम अगाडि बढिरहेको सन्दर्भमा केबलकार निर्माणमा असन्तुष्टि जनाउने पक्षहरूसँग वार्ताको माध्यमबाट विवाद समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

मंगलबारको बैठकको निर्णयमा उल्लेख छ, ‘असन्तुष्ट पक्षहरूसँग प्रदेश सरकारबाट गठित वार्ता समिति औपचारिक रूपमा वार्ताको लागि आह्वान गर्दछ ।’

प्रदेश सरकारले गत मंसिर २४ गते मन्त्री रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्री भूपेन्द्र राई, आन्तरिक मामिला तथा कानून मन्त्री रेवतीरमण भण्डारी र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कमल थापा सहितको समिति बनाएको थियो ।