इटहरी – कोशी प्रदेश सरकारले २०८२ साललाई कोशी पर्यटन वर्ष घोषणा गरेको छ ।
कोशी प्रदेशको विकास, समृद्धि र पर्यटन प्रवद्र्धनका लागि आधारशीला खडा गर्ने मुख्य उद्देश्यसहित पर्यटन वर्षको शुभारम्भ गरिएको छ ।
कोशी प्रदेशको प्रसिद्ध पर्यटकीयस्थल तीनजुरे मिल्के क्षेत्रबाट पर्यटन वर्षको शुभारम्भ उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिहंले गरिसकेका छन् । नयाँ वर्षका दिन शुभारम्भ गरिएको कोशी पर्यटन वर्षका लागि १०० बढी गन्तव्यहरू सरकारले नै तयारी गरिसकेको छ । ८२ गन्तव्यहरूको पहिचान गरी सूची नै तयार भएको छ ।
नयाँ गन्तव्यहरूको पहिचान गरी सोही अनुसारको पूर्वाधार विकासमा प्रदेश सरकारले योजनाहरू अघि सारिसकेको छ । कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पर्यटन वर्षलाई सफल बनाएर प्रदेशलाई समृद्ध बनाउने अभियानमा लाग्न अपिल गरेका छन् ।
यसै सिलसिलामा कोशी प्रदेशमा रहेका सम्भावना बोकेका र धेरैको रोजाइमा परेका प्रमुख १० पर्यटकीय गन्तव्यहरूको सूची नेपाल न्यूज बैंकले तयार गरेको छ । प्रदेशमा रहेका १४ जिल्लामध्येबाट छनौट गरिएका गन्तव्य यसप्रकार छन् ः
पाथीभरा
ताप्लेजुङको पाथीभरा कोशी प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो । चीन र भारत दुवैसँग सिमाना जोडिएको जिल्ला ताप्लेजुङको पाथीभरा खासगरी हिन्दू धर्मावलम्बीहरूका लागि अत्यन्तै पवित्र तीर्थस्थल मानिन्छ ।
समुद्री सतहबाट करीब ३ हजार ७९४ मिटर उचाइमा अवस्थित पाथिभराका साथै मुकुलुङमामा आफ्नो मनोकामना पूरा हुने विश्वासले यहाँ दर्शन गर्न आउने गरेका छन् । हरियाली वनजंगल, सुन्दर हिमालको दृष्यावलोकनका साथै सांस्कृतिक विविधताले समेत भरिर्पूण पाथीभरा क्षेत्रमा तपाईंको गन्तव्यलाई थप मनोरम बनाउन मद्दत पुग्ने नै छ ।
मेची राजमार्गको सवारी यात्रा त्यसपछि ३–४ घण्टाको पैदलपछि मन्दिर पुग्न सकिन्छ । उच्च हिमाली भेगमा रहेको यस धार्मिक पर्यटकीय गन्तव्यलाई सफल र मनोरञ्जनात्मक बनाउन तातो लुगा, वर्षातको तयारी, औषधि र आवश्यक खाद्य सामग्री जरुरी पर्छ ।
हलेसी
तीन धर्म (हिन्दू, बौद्ध र किरात) को संगमस्थल खोटाङ जिल्लामा अवस्थित हलेसी प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्छ । समुन्द्र सतहबाट १ हजार ४४४ मिटरको उचाइमा रहेको हलेसी हिन्दूहरूका लागि पूर्वको पशुपतिले समेत परिचित रहेको छ ।
किराँत समुदायको आदिम भूमि, बौद्धमार्गीहरूका लागि दोस्रो लुम्बिनी आफैंमा प्राकृतिक दृष्टिले समेत यात्रा गर्नैपर्ने स्थानका रूपमा लिन सकिन्छ । यहाँ पनि आफ्नो मनोकांक्षा पूरा गर्नका लागि बर्सेनि लाखौं पर्यटक आउने गर्दछन् । सवारीसाधनको प्रयोगबाटै पुग्न सकिने हलेसी सहज गन्तव्य समेत बन्न सक्छ । हलेसी क्षेत्रमा आवश्यक वासस्थानको समेत उचित व्यवस्था रहेको छ ।
बराहक्षेत्र
धर्तीको पहिलो धाम सुनसरीस्थित बराहक्षेत्र धाम पनि यात्राका लागि प्रमुख गन्तव्यका रूपमा पर्न सक्छ । तराईकै जिल्लामा अवस्थित रहेर पनि बराहक्षेत्र यात्राका लागि त्यति कठिन छैन । हिन्दूहरूका लागि प्रमुख धार्मिक गन्तव्य बराहक्षेत्र उचित मान्न सकिन्छ । यात्राका क्रममा खुवालुङ क्षेत्रका साथै हरियाली वनजंगल र सप्तकोशीको सुन्दर रसपानले मनै आनन्दित हुने दृष्य समेत देख्न सकिन्छ । जुनसुकै समयमा पनि आउन सकिने बराहक्षेत्रमा खासगरी कात्तिक पूर्णिमा, मकर संक्रान्ति, विभिन्न एकादशीहरूमा समेत मेला लाग्ने गर्दछ ।
भेडेटार
धनकुटा जिल्लाको साँघुरीगढी गाउँपालिकामा रहेको भेडेटार कोशी प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्र हो । यातायातको सहज पहुँच, चिसो सुन्दर हावापानी, भौतिक संरचनाका साथै रमणीय ठाउँहरूको अवलोकनका लागि मानिसहरू भेडेटार आउने गर्दछन् । स्काईवाक, जीपलाइन, नमस्ते झरना, राजारानी पोखरी, त्यहाँको पाथीभरा मन्दिरको दर्शन, भ्यू टावरका साथै होमस्टेको लागि भेडेटारलाई यात्राका रूपमा गन्तव्य बनाउन सकिन्छ । प्रदेशको राजधानी विराटनगरबाट मात्र ४३ किलोमिटर उत्तरमा रहेको भेडेटार सहज र सुलभ पर्यटकीय क्षेत्र समेत हो । यस क्षेत्र अध्ययन तथा अवलोकनकाका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रूपमा लिन सकिन्छ ।
इलाम
कोशी प्रदेशको पूर्वी पहाडी जिल्ला इलाम आफैंमा एक पर्यटकीय एक पर्यटकीय गन्तव्य हो । कोशी प्रदेशलाई सूर्योदयको प्रदेश भनिएझैं इलामबाटै सूर्योदय हेर्न सकिन्छ । बिहानीको सुरुवात नै इलामले गर्ने भएकाले पनि इलाम आफैंमा विशेष छ । चिया बगान, अन्तु डाँडा, सन्दकपुर, माईपोखरी, सिद्धिथुम्का जस्ता पर्यटकीय गन्तव्य इलामले प्याकेजका रूपमा पाएको छ । यसका अलावा इलामलाई अध्ययन तथा अवलोकनका साथै शैक्षिक भ्रमणका लागि समेत उपयुक्त क्षेत्रका रूपमा लिन सकिन्छ । होमस्टे, होटलका साथै रिसोर्टहरू समेत उचित प्रबन्ध भएको इलाम मेची राजमार्ग हुँदै यातायातको समेत सहज पहुँच राख्न सकेको छ । अनुकूल हावापानी र रमणीय दृष्य र न्यानो आतिथ्यताले समेत मन लोभ्याउन सक्छ ।
साल्पा पोखरी
साल्पा पोखरीलाई प्रदेशको प्रमुख गन्तव्यका रूपमा लिन सकिन्छ । भोजपुर जिल्लामा रहेको हिन्दू, बौद्ध र किँरात धर्मालम्वीको प्रमुख गन्तव्यका रूपमा लिइने पोखरी प्राकृतिक विविधताले भरिपूर्ण छ । ३ हजार ४४३ मिटरको उचाइमा रहेको पोखरीको यात्रा भने त्यति सहज छैन । मुन्धुम ट्रेलले समेत जोडिने यो पर्यटकीय गन्तव्यमा जाँदा केही योजना बुनेर जानु उत्तम देखिन्छ । पैदल यात्रा र पहाडी भेगलाई समेत बुझ्न सकिएमा यहाँको यात्रा रमणीय र आनन्दित हुन्छ । यात्राका क्रममा देखिने प्राकृतिक संरचनाका साथै हावापानी र मौसमले मनै आनन्दित तुल्याउँछ । यसलाई ट्रेकिङ गन्तव्यका रूपमा अपनाउन पनि सकिन्छ ।
नाम्चे बजार
हिमाली जिल्ला सोलु आफैंमा पर्यटकीय गन्तव्य भएको जिल्ला हो । विश्वको सर्वोच्च शिखर सगरमाथा रहेको जिल्लाको मुख्य गन्तव्यका रूपमा नाम्चे बजारलाई लिन सकिन्छ । पद यात्राका लागि समेत महत्वपूर्ण मानिने यो बजार सगरमाथा सहितका हिमशृंखलाको दृश्यावलोकनका साथै शेर्पा समुदाय र हिमाली रहनसहन बुझ्नका लागि नाम्चे बजार जानुपर्ने मुख्य गन्तव्य पर्न सक्छ । ३ हजार ४४० मिटरको उचाइमा रहेको यस क्षेत्र जाँदा विशेष योजनाका साथ जानका लागि आवश्यक छ । सडक मार्गबाट सल्लेरीसम्म पुग्ने र त्यसपछि ५ दिनको ट्रेकिङ गर्न सकिन्छ । हवाईबाट काठमाण्डु–लुक्ला उत्रिसकेपछि थप गन्तव्यहरू तय गर्न सकिन्छ ।
मुन्धुम ट्रेल
खोटाङ, भोजपुर र संखुवासभा जोडिएको यो ट्रेकिङ गन्तव्य पर्यटन वर्षको रोजाइमा पार्न सकिन्छ । खोटाङको दिक्तेलबाट सुरु हुने यो ट्रेक यात्रा संखुवासभाको सिलिचोङमा पुग्न सकिन्छ । किराँत सभ्यता संस्कृतिका साथै पहिचान बोकेको यो मार्गले पर्यटन वर्षलाई स्वागत गर्न सक्छ । कम्तीमा १० दिनको यात्रा योजनाका साथ गाउँका परिवेश बुझ्नका लागि पनि यो योजनाबद्ध पर्यटकीय गन्तव्य हो । पहाडी, हिमाली भेग र त्यमाथि पैदल यात्रा हुने हुँदा आवश्यक ट्रेकिङ गाइडका साथ गएमा आवश्यक सहजता प्रदान गर्दछ ।
बसन्तपुर
गुराँसको राजधानी समेत भनेर चिनिने तेह्रथुम आफैं पनि पर्यटकीय गन्तव्य हो । नेपालको राष्ट्रिय फूलको अवलोकन, पहाडी हावापानीको अनुभवका लागि त्यहाँ जान सकिन्छ । बसन्तपुर जिल्लाको व्यापारिक केन्द्र समेत हो । तराईबाट सहज ढंगबाट पुग्न सकिने बसन्तपुर घुम्न लायक गन्तव्य हो ।
केचनाकवल
होचो भूभाग भनेर चिनिने केचनाकवल पनि अवलोकनका लागि धेरैलाई उत्सुक हुन सक्दछ । झापामा रहेको केचनाकवल समुद्री सतहबाट ६० मिटरको उचाइमा छ । यात्राका लागि सहज पहुँच रहेको यो गन्तव्य घुम्नका साथै कृषिभण्डार मानिने तराईको क्षेत्र अवलोकनका लागि केचनाकवललाई रोज्न सकिन्छ ।
प्रतिक्रिया