कोटेश्वरको ‘अण्डरपास’ जाइकाले नबनाए सरकार आफैले काम सुरु गर्ने

कोटेश्वरको ‘अण्डरपास’ जाइकाले नबनाए सरकार आफैले काम सुरु गर्ने


सञ्चिता घिमिरे
काठमाडौं – उपत्यकाको बढी जाम हुने मध्ये स्थानमा पर्ने जडीबुटीमा ‘अण्डर पास’ निर्माणमा सरकारले चासो देखाएको छ ।

जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले अण्डरपास निर्माण चाँडो शुरु नगरे सरकार आफैँले शुरु गर्ने तयारी थालेको छ ।

यसअघि नै जाइकाले यस स्थानमा ‘अण्डरपास’ निर्माणको पूर्व सम्भाव्यता अध्ययन गरिसकेको छ ।

माइतीघरदेखि सूर्यविनायकसम्म छ लेन सडक विस्तार गरेको जाइकाले यही सडकखण्डमा पर्ने चोकमा ‘अण्डरपास’ निर्माणमा चासो देखाउँदै अध्ययन गरेको हो ।

केही समयपहिले मात्रै जाइकाका उच्चपदस्थ पदाधिकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठसँग भेट गरेको मन्त्रालयले जनाएको छ ।

जाइकाले चासो देखाएकै कारण उसलाई नै निर्माणको जिम्मेवारी दिने योजना भइरहेको प्रवक्ता राजेश्वर ज्ञवलीले बताए ।

‘उनीहरुले गर्छौं नै भनिरहेकाले पहिलो प्राथमिकता उसलाई नै बनाउन दिने हो’, उनले भने ।

जाइकाले अन्तिम खाका ल्याउन बाँकी रहेको प्रवक्ता ज्ञवालीले बताए ।

उनका अनुसार अन्तिम खाका आउन ढिलाइ हुँदा मात्रै त्यसको विकल्प खोजिने उनले बताए ।

उनले भने, ‘यो वर्षभित्र काम अघि बढाउने मन्त्रालयको सोचाइ छ ।’

सरकारले आगामी वर्ष बजेटमा ‘अण्डरपास’ निर्माणका लागि रकम विनियोजन गरेको केही दिनपहिले प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बताएका थिए ।

विनियोजित बजेट पर्याप्त नभए अर्थ मन्त्रालयसँग थप रकम माग गरेर पनि काम अघि बढ्ने उनको भनाइ छ । उनका अनुसार जाइकाले निर्माणको निर्णय छिटो नगरे मन्त्रालय आफैँले परामर्शदाता छनोटलाई अघि बढाउने बताएको छ ।

कलङ्कीमा माथिल्लो भाग खुल्ला ‘अण्डरपास’ रहेकामा यस स्थानमा ढाकिएको (कभर) अण्डरपास निर्माण गर्ने मन्त्रालयले बताउँदै आएको छ ।

‘खुल्ला अण्डरपासमा तलबाट गाडी कुदे पनि माथि चल्न पाउँदैन, यहाँको सवारी चाप हेरेर कभर हुँदा तलमाथि एकै पटक गाडी गुड्न सक्छ’, उनले भने ।

जडीबुटीमा ‘अण्डरपास’ निर्माण हुँदा काठमाडौँ उपत्यकाका तीनै जिल्लाको यातायात आगमन सहज हुने मन्त्री महासेठको भनाइ छ ।

अहिले यस स्थानमा दैनिक हुने जामका कारण सवारीसाधन घण्टौँसम्म जाममा परिरहेका छन् । तीनकुनेबाट जडीबुटी चोकसम्मको सवारी जाम कम गर्न सडक विभागले गत वर्षबाट मनोहरा करिडोरको डाइभर्सन सञ्चालनमा ल्याएको छ ।

तीनकुनेबाट कोटेश्वर, जडीबुटी हुँदै लोकन्थली चोक र त्यस क्षेत्रमा हुने ट्राफिक जामलाई कम गर्न विभागले ट्राफिक प्रहरीसँगको सहकार्यमा डाइभर्शन शुरु गरेको थियो ।

डाइभर्शन सञ्चालनमा आएसँगै भक्तपुरबाट ललितपुरतर्फ आउने साना सवारीसाधन मनोहरा करिडोर हुँदै बालकुमारी जाने गरेका छन् । यसले गर्दा यस क्षेत्रको जाम केही मात्रामा कम भइरहेको मन्त्रालयले जनाएको छ ।

मनोहरा करिडोरलाई विस्तार र सुधारसँगै यो सडक नियमित सञ्चालनमा ल्याउनका लागि बेलिब्रिजको समेत निर्माण शुरु भएको छ । जडीबुटी चोकबाट ललितपुर जाने सवारी साधनलाई मनोहरा आँखा अस्पतालबाट टीकाथली तथा बालकुमारी जानका लागि यो पुल निर्माणपछि सहयोग पुग्ने बताइएको छ ।

अरनिको राजमार्गमा ट्राफिक डाइभर्सनबाट ललितपुरतर्फ जाने सवारीसाधन मनोहरा करिडोरतर्फ मोड्ने गरिए पनि आँखा अस्पताल अगाडि कम चौडाइको पुल थियो ।

जडीबुटीको जाम छल्न करिडोरबाट ललितपुर जान हिँडेका चालक सोही पुलमा घण्टौँसम्म जाम पर्ने गरेको स्थानीयवासी बताउँछन् ।

सरकारले काठमाडौँ उपत्यका र उपत्यका बाहिर विभिन्न स्थानमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिइने बताउँदै आएको छ ।

यसै वर्षबाट नागढुङ्गा नौबिसे सुरुङमार्ग जापान सरकारको ‘सफ्ट लोन’बाट निर्माण शुरु हुँदैछ । अर्थ मन्त्रालयले सुरुङमार्गकै लागि एकमुष्ट ५९ करोड रूपैयाँ विनियोजन गरेको छ ।

विनियोजित बजेट प्राथमिताका आधारमा कुन योजनालाई कति छुट्याउने भन्ने निर्णय हुने मन्त्रालयले जनाएको छ ।