राजनीतिक आन्दोलन सकियो, अब विकास निर्माणको अभियान : प्रधानमन्त्री ओली

राजनीतिक आन्दोलन सकियो, अब विकास निर्माणको अभियान : प्रधानमन्त्री ओली


धनुषा– प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक आन्दोलन सकिएकाले विकास निर्माणको अभियान सञ्चालन गर्नुपर्ने बताएका छन्।

सहिद रामवृक्ष यादवको २४ औं स्मृति विदशको अवसरमा धनुषाको बरमझियामा आयोजत स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

राजनीतिक अधिकार प्राप्तीको लडाईं सकिएकोले अब सबै एकताबद्ध भएर विकास निर्माणमा लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

सहिद रामवृक्ष यादवले अधिकार प्राप्तीका लागि बलिदानी गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने, ‘अबको पुस्ताले अधिकार प्राप्तीका लागि लडाईं लड्नु पर्दैन । यही अधिकारलाई प्रयोग गरेर विकास निर्माणको काममा लागे पुग्छ।’

प्रधानमन्त्री ओलीले गरिब र निमुखाहरुको वास्तविक प्रतिनिधित्व गर्ने मजवुद कम्यूनिष्ट सरकार देशमा भएकोले अब कसैले पनि दुःख,गरिबी र पछौटेपनमा बाँच्नु नपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। केही तत्वहरुले जननिर्वाचित सरकारलाई काम गर्न नदिने हर्कत गर्न खोजेकोमा त्यस्ता तत्वहरुलाई जनताले पहिचान गरेर निस्तेज पार्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

‘हामी समाजवाद तर्फ उन्मुख व्यवस्था तर्फको यात्रा तय गर्दैछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘यो व्यवस्थामा कोही पनि हेपिनु पर्दैन,कसैले पनि अछुत भनेर विभेद सहनु पर्दैन ।’

प्रधानमन्त्ती ओलीले प्रदेश नं २ मा कृषिको आधुनकिकरण मार्फत समृद्धि हासिल गर्न सकिने बताए। ‘सिचाइको अभावमा तराई सुख्खा र मरुभुमिकरण भएको छ ” प्रधानमन्त्ती ओलीले भने, ‘यहाँ सिंचाइको व्यवस्था गरेर,कृषिको आधुनिकीकरण माफर्त यहाँका जनतालाई धनी बनाउन सकिन्छ । त्यस दिशातर्फ सरकारले योजना बनाउछ ।’

प्रधानमन्त्री ओलीले प्रदेश नं २ को विकासका लागि आफू प्रतिवद्ध भएको भन्दै यहाँका जनताको आवश्यकता र माग अनुसारका योजना बनाएर संघीय सरकारलाई पठाउन प्रदेश सरकारलाई आग्रह गरे।

मधेसमा विद्यमान बोक्सी र दाइजोप्रथालाई अविलम्ब अन्त्य गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ। ‘सुधार हामी आफैंबाट पनि सुरु गर्नु पर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘आमा दिदी,बहिनीलाई बोकसी भनेर अमानवीय व्यबहार गर्ने काम बन्द गर्नुपदर्छ । समाजले दहेजको लोभ गर्न पनि पनि बन्द गर्नुपर्दछ ।’