मैले पानीजहाजको कुरा गर्दा केही मानिसले बुझेनन् : केपी ओली

मैले पानीजहाजको कुरा गर्दा केही मानिसले बुझेनन् : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भरतपुर नेपालको विशेष प्रकारको ठाउँ भएको बताएका छन् ।

आज शुक्रबार भरतपुर भ्रमण वर्षको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भरतपुर मानव र जंगली जनावरको गजबको मेल र अलि–अलि संघर्ष समेत भएको ठाउँ भएको बताए ।

आफू प्रधानमन्त्री हुँदा नदीको बाटोबाट कलकत्ता बन्दरगाहसम्म जाने बाटोलाई जोड्ने काम अघि बढाएको उनले बताए । आफूले पानीजहाजको कुरा गर्दा सुरुमा मानिसहरूले कुरा नबुझेको बताउँदै उनले अहिले कम्तीमा नारायणी नदीमा स्टिमर चल्न लागेकोमा खुशी व्यक्त गरे ।

आफ्नो पालोमा पूर्वपश्चिम राजमार्गलाई ६ लेनको बनाउने काम तथा हुलाकी मार्ग निर्माण लगायतका काम भएको उनले स्मरण गरे । आफ्नो पालामा नारायणी नदी नियन्त्रण, सभा हल निर्माण, औद्योगिक क्षेत्र घोषणा लगायतका काम भएको उनले बताए ।

‘मलाई लाग्छ – यस ठाउँको विकास तीव्र गतिमा हुन सक्छ,’ उनले भने ।

उनले भरतपुर भ्रमण वर्षलाई चितवन भ्रमण वर्षको रूपमा अघि बढाउनुपर्ने बताए । भ्रमण वर्षलाई समग्र चितवनको विकासका रूपमा लिनुपर्नेमा उनले जोड दिए ।

उनले चितवनलाई शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन हरेक क्षेत्रको हब बनाउन सकिने उनले बताए । ‘चितवनलाई शिक्षाको हब, स्वास्थ्यको हब बनाउन सकिन्छ,’ उनले भने ।

चितवनले कृषि, पशुपालन, मत्स्यपालन लगायतका क्षेत्रमा पनि विकास गर्न सक्ने उनले प्रष्ट पारे । उनले आगामी १ वर्षको बीचमा आफू पनि सपरिवार चितवन घुम्न आउने बताए । ‘यो त रमाइलोसँग जिन्दगी बिताउने ठाउँ हो, यहाँ बोटिङ गरे हुन्छ, बागवानी हेरे हुन्छ,’ उनले भने ।