विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई बुझाए १३ बुँदे ज्ञापनपत्र

विपक्षी दलहरूले प्रधानमन्त्री ओलीलाई बुझाए १३ बुँदे ज्ञापनपत्र


काठमाण्डु – विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ बुँदे ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार साँझ ८ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका विपक्षीहरूले तानाशाही लाद्ने प्रयास नगर्न चेतावनी दिए ।

ज्ञापन पत्रमा भनिएको छ, ‘राज्यसामु आएका जल्दाबल्दा समस्याहरूलाई सम्बोधन गर्न संसद्मा रहेका प्रतिपक्षी दलहरू समेतको सल्लाह सहयोग लिई एकताको सन्देश प्रवाहित गर्नुको साटो सरकार टिकाउन २ दलीय तानाशाही लाद्न तथा अन्य दलहरूलाई विभाजन गर्ने उद्देश्य राखेर राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गर्ने जस्ता कुनै पनि कार्य नगरियोस् ।’

ज्ञापनपत्र बुझाउनका लागि पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका उपाध्यक्ष डीपी अर्याल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, कार्यदलका सदस्यहरू शक्ति बस्नेत, राजेन्द्र पाण्डे, शिशिर खनाल लगायत नेताहरू बालुवाटार पुगेका थिए ।