सय दिनसम्म ओलीले पाएनन् भारत र चीनबाट भ्रमणको निम्तो

सय दिनसम्म ओलीले पाएनन् भारत र चीनबाट भ्रमणको निम्तो


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे नेतृत्वमा नेपाली कांग्रेस र एमाले मिलेर बनेको बलियो सरकार बनेपछि कुटनीतिक क्षेत्रले गति लिने अपेक्षा गरिएको थियो । सरकार बनेको सय दिनसम्म कूटनीतिक भेटघाट र भ्रमणले तीव्रता पाए । तर प्रधानमन्त्री ओलीलाई उत्तरी र दक्षिणी छिमेकी मुलुकबाट भ्रमणको निमन्त्रणा आएको छैन ।  कुटनीतिक क्षेत्रका जानकारहरूले यसलाई सरकारको कुटनीतिक विफलता मानेका छन् ।

यस अवधिमा नयाँ सरकारप्रति न दक्षिणी छिमेकी न त उत्तरी छिमेकी नै उत्साहित छ । कुटनीतिक मामिलाका जानकारहरूले ओली नेतृत्वमा सरकार बनेपछि कुनै पनि छिमेकीले विश्वास गर्न नसकेको बताउँछन् । सरकार बनेपछि छिमेकीहरूमा उत्साह नआएको उनीहरूको भनाइ छ ।

ओलीले सरकारको नेतृत्व गरेको सय दिन पुग्दासमेत छिमेकी देशहरू भारत र चीनबाट औपचारिक भ्रमणको निम्तो नआउनुले सरकार कुटनीतिक मामिलामा असफल भएको टिप्पणी हुन थालेको छ ।

सरकार गठनपछि पहिलो विदेशी कुटनीतज्ञका रूपमा भारतबाट विदेश सचिव विक्रम मिश्री नेपाल आए । त्यसपछि भदौ पहिलो साता परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको औपचारिक भ्रमण गरिन् । उनले भदौ ३ गते प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेटवार्ता गरिन् । भेटलाई दिल्लीले राणालाई निकै महत्व दिएको रूपमा अर्थ्याइयाे । यसबाट भारतसँगको सम्बन्धमा निकै सुधार आएको सत्तापक्षीय नेताहरूले दाबी गरे । भेटकै क्रममा मन्त्री राणाले मोदीलाई ओलीले पठाएको नेपाल भ्रमणको निम्तो हस्तान्तरण पनि गरिन् ।

तर ओलीले प्रधानमन्त्री भएपछि अहिलेसम्म भ्रमणका लागि भारतबाट औपचारिक निमन्त्रणा प्राप्त गरेका छैनन् । यद्यपी संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका क्रममा न्युयोर्कमा भारतीय प्रधानमन्त्री मोदीसँग साइडलाइन भेटवार्ता भने भयो । उक्त भेटवार्ता पनि अन्तिम समयमा मात्र तय भएको थियो ।

साइडलाइन भेटमा ओलीले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दोहोर्‍याए तर ओलीलाई मोदीबाट भारत भ्रमणको निमन्त्रणा प्राप्त भएन । ओलीलाई मोदीले मौखिक निमन्त्रणा पनि नगरेको भेटमा सहभागी एक अधिकारीले बताए ।

भारतीय विदेश सचिव नेपाल आउँदा पनि भारतीय प्रधानमन्त्री मोदीले समकक्षी ओलीलाई भारत भ्रमणको निम्तो पठाएनन् । परराष्ट्रमन्त्री राणाले नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्दा पनि उनले नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो दिएनन् ।

सरकार बनेपछि चीनबाट नेपालमा र नेपालबाट चीनतर्फ पनि लगातार भ्रमणहरू भएका छन् । यसअवधिमा चिनियाँ कम्युनिस्ट पार्टी सिंहाई प्रान्तका सचिव तथा चिनियाँ राष्ट्रपति सी चिनफिङका दूतका रूपमा छन् गाङले नेपाल भ्रमण गरेका छन् । चीनबाट आएका पछिल्ला सबैभन्दा उच्च अधिकारी उनी नै हुन् । उनले नेपालमा उच्च तहमा राजनीतिक भेटवार्ता गरे ।

भारतले ओलीलाई अहिलेसम्म भ्रमणको निम्तो नदिएपछि ओली पनि करै गरेर जाने पक्षमा छैनन् । तथापी पछिल्लो समय ओलीले मोदीसँग सम्बन्ध सुधारका लागि मन्त्री राणामार्फत् सन्देश पठाएर सन्तुलित र सुमधुर सम्बन्ध बनाउन खोजेको देखिन्छ । तर भारतलाई भने अहिले पनि ओली प्रधानमन्त्री भएको मन परेको छैन ।

गत भदौ ३१ गते संसदमा सम्बोधनका क्रममा ओलीले नेपाललाई छुद्र छिमेकी नचाहिने भन्दै अभिव्यक्ति दिएका थिए । यो अभिव्यक्तिलाई सामान्य रुपमा हेर्दा भारत र चीनप्रति नेपालले समान व्यवहारको नजरले हेर्ने गरिए पनि यसको कुटनीतिक अर्थ अरु नै भएको जानकारहरू बताउँछन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण निश्चित छैन । निमन्त्रणा नआएका कारण प्रधानमन्त्री ओलीको भारत भ्रमण पनि निश्चित छैन । तर प्रधानमन्त्री ओलीले चीन भ्रमणका लागि इच्छा प्रकट गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन् । ती अधिकारीका अनुसार चीनबाट पनि शीर्ष नेताहरूको समय उपलब्ध छ भन्ने संकेत आएको छैन ।

वर्तमान सरकारले बिआरआई कार्यान्वयन योजनामा हस्ताक्षर गर्ने रुची नदेखाएपछि चीनले प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गर्ने अवस्थामा नभएको बताइन्छ ।