सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहीबार आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दिशामा अगाडि बढिरहेको बताए ।

‘देशमा विकास भएको छ, राम्रा काम भएका छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘देश बनाउने काम एकछिनमा हुने कुरो होइन । देश क्रमशः विकासको गतिमा अघि बढेको छ तर विरोधीले विकास केही भएको छैन भनेर आलोचना मात्रै गरिरहेका छन् । त्यसैले सकारात्मक भएर सबै राष्ट्र निर्माणमा एकजुट हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले कसैप्रति कुरा राख्दा सत्यतामा आधारित सभ्य तथा मर्यादित भाषामा राखेको खण्डमा नेपालीको सभ्यता र संस्कृति झल्किने बताए । उनले भने, ‘निराश भइहाल्नुपर्ने अवस्था छैन । गालीगलौजको असभ्य प्रस्तुति हैन, सभ्य ढंगले जानुपर्छ । गल्ती गर्नेलाई गुनासो गर्न पाइन्छ तर मेरो आग्रह के मात्रै हो भने एउटा सिष्ट, सभ्य र मर्यादित भाषामा बोल्ने गरौं, जुन हामी नेपालीको सभ्यता र संस्कृति हो ।’

सरकारले देशको राष्ट्रियतालाई डगमगाउन नदिने प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘सरकारले यो देशको राष्ट्रियता डगमगाउन दिँदैन, राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै जनअपेक्षाअनुरूप कामलाई तीव्रताका साथ अगाडि बढाउछ,’ उनले भने । पार्टीको केन्द्रीय कार्यालय निर्माणमा व्यवसायी मीनबहादुर गुरुङको सहयोगको सन्दर्भमा प्रधानमन्त्री ओलीले सहयोग गरेको विषयलाई अनावश्यक नउचाल्न पनि आग्रह गरे ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सबै नेपाली नागरिकमा शुभ दीपावलीको हार्दिक शुभकामना पनि व्यक्त गरेका छन् ।

तिहारका अवसरमा विगतका वर्षमा जस्तै सिस्नोपानी नेपालले बिहीबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको देउसी कार्यक्रममा प्रधानमन्त्री ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । देउसी कार्यक्रममा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीद्वय झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायतको उपस्थिति थियो ।

सिस्नोपानी नेपालले समसामयिक विषयवस्तुमा व्यंग्यात्मक प्रहार गर्दै देउसी कार्यक्रम आयोजना गर्ने गरेको छ । सो अवसरमा हास्यकलाकार मनोज गजुरेल लगायतको समूहले विशेष प्रस्तुति प्रस्तुत गरेको थियो ।